एउटै टेस्ट सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड राेहितकाे नाममा, हेटमायरलाई उछिने

 कात्तिक २, २०७६ शनिबार १६:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारतीय खेलाडी रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन् । 

राँचीमा सुरु भएको टेस्टमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय क्रिकेटमा उत्कृष्ट लयमा रहेका रोहितले टेस्टमा पनि आफूलाई अब्बल सावित गरेका छन् । 

उनले शनिबार दक्षिण अफ्रिकाविरुद्ध तीन छक्का प्रहार गरेपछि एउटै टेस्ट सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका हुन् । रोहितले एक टेस्ट सिरिजमा १६ छक्काको कीर्तिमान बनाएका हुन् । 

यसअघि यो रेकर्ड वेस्टइण्डिजका शिमराेन हेटमायरको नाममा थियो । उनले बंगलादेशविरुद्धको टेस्ट सिरिजमा १५ छक्का प्रहार गरेका थिए । 

रोहितभन्दा पहिला टेस्टको एक सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड भारतका हरभजन सिंहले बनाएका थिए । सिंहले न्युजिल्याण्डविरुद्ध १४ छक्का प्रहार गरेका थिए ।

यस्तै रोहितले टेस्टमा छैटौँ शतक पनि बनाएका छन् । उनले अहिलेसम्म सबै शतक भारतमा मात्रै बनाएका हुन् । याेसँगै राेहितले टेस्टमा दुई हजार रन पनि पूरा गरेका छन् । 

रोहित अहिले ११७ रनमा नट आउट छन् भने अजिन्क्या रहाणे ८३ रन बनाएर खेलिरहेका छन् । भारतका मयंक अग्रवाल १० रनमा आउट हुँदा चेतेश्वर पुजाराले खाता नै खोल्न सकेनन् । 

त्यस्तै कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका कागिसो राबडाले २ तथा एनरिच नोर्तेजले एक विकेट लिएका छन् ।

लगातार दुई टेस्ट जित्दै सिरिज जीतिसकेको भारत क्लीनस्वीप गर्ने दाउमा छ भने दक्षिण अफ्रिका यो टेस्ट जित्दै क्लिनस्वीप हुनबाट जोगिने प्रयासमा छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया