एसियाली खेलकुद हेर्न दुवै कोरियाका नेतालाई निम्तो

 असार ३२, २०७५ सोमबार १७:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियाले आगामी महिना सुरु हुने १८ औं एसियाली खेलकुद हेर्न दुवै कोरियाका नेतालाई निम्तो दिएको छ ।

इण्डोनेसियाका राष्ट्रपति जोको विडोले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई औपचारिक रुपमा एसियाली खेलकुदको उद्घाटन र समापनका बेला इण्डोनेसिया आउन पत्र पठाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जोहान बुडीले पत्र पठाएको पुष्टि गर्दै यस विषयमा दुवै कोरियाबाट कुनै पनि जवफ नआएको बताए । एसियाली खेलकुदमा यस पटक दुवै कोरियाको संयुक्त टिमले क्यानोयिङ, रोइङ र महिला बास्केटबलमा सहभागिता जनाउँदैछ । 

१९५०–५३ सम्म चलेको कोरिया युद्धका कारण दुवै देशको सम्बन्ध राम्रो थिएन् । तर पछिल्लो समय दुई कोरियाका बीचमा सम्बन्ध सुधार भएकाले शीतकालीन ओलम्पिकमा महिलाको आइस हकी टिमले संयुक्त रुपमा सहभागिता जनाएको थियो ।

अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म चल्ने एशियाली खेलकुद प्रतियोगितामा ४० खेलका ११ हजार बढी खेलाडी सहभागी हुँदैछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया