‘अमेरिकाबाट फर्किँदा काम पाउँदिन कि भन्ने सोच्थेँ, तर अहिले भ्याइनभ्याइ छ’

अब स्टार, सुपरस्टार होइन, कलाकार भएर काम गर्नुपर्छ !

 कात्तिक ३, २०७६ आइतबार १४:२३:३१ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – १७ वर्ष अमेरिका बसेर २०७२ सालमा अभिनेता सरोज खनाल स्वदेश फर्किए । उनी स्वदेश फर्किँदा धेरैले आलोचना गरे । जवानी अमेरिकामा बिताएर उमेर ढल्केपछि नेपाल फर्किएको भन्दै खनालप्रति धेरैको आक्रोश थियो । 

तर आफ्नो कामबाट सरोजले अहिले सबै आक्रोशलाई मत्थर पार्दै गैरहेका छन्, धेरै आलोचकको मुख बन्द गर्न सफल भएका छन् । सरोज अमेरिका पुग्दा यता राजेश हमाल ‘महानायक’का रुपमा उदाए । हमाल र खनाल साथी हुन् । 

अहिले तिनै महानायक हमाल चलचित्रमा देखिँदैनन् । तर सरोजलाई भने भ्याइनभ्याइ छ । 

‘चार वर्षअघि अमेरिकाबाट फर्किँदा फेरि नेपाली चलचित्र क्षेत्रमा काम पाउँदिन होला सोचेको थिएँ’, आफ्नो कमब्याकप्रति प्रसन्न देखिएका खनालले भने, ‘तर अहिले भ्याइनभ्याइ छ ।’

विकास आचार्यले निर्देशन गरेको ‘नाईँ नभन्नु ल २’ चलचित्रबाट कमब्याक गरेका सरोजलाई सन्तोष सेनको ‘प्रेमगीत’ ले चर्चा र सफलता दुवै दिलायो । यी दुइटै चलचित्रमा चरित्र अभिनयमा सफल देखिएका खनाललाई अहिले पनि धेरै फ्यानले ‘पूजा शर्माको ड्याडी’ भनेर जिस्क्याउँछन् । 

सुदर्शन थापाले निर्देशन गरेको प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माको मुख्य भूमिका थियो । खनाल भने पूर्जा शर्माको बुवाको भूमिकामा थिए । 

त्यसपछि उनले ‘म यस्तो गीत गाउँछु’, ‘नाईँ नभन्नु ल ४’, ‘रेनी’, ‘सुब्बासाप’, ‘पञ्चायत’, ‘पसिना’लगायतका चलचित्रमा अभिनय गरे । खनालले यसरी लगातार चलचित्र पाइरहँदा विदेशबाट फर्किएका मात्रै होइन, स्वदेशमै रहेका कुनै बेलाका स्टार, सुपरस्टारका पनि अहिले हात खाली छन् । 

तर सरोज खनाललाई भने कुन चलचित्र खेल्ने, कुन नखेल्ने भन्ने अन्यौल छ । 

‘अमेरिकाबाट फर्केपछि अरु काम नपाए पनि आफ्नै पोल्ट्री फर्म चलाउँछु भन्ने सोचेको थिएँ, तर दर्शकको माया र साथीभाइको साथ सहयोगले चलचित्र छान्नै धौ धौ छ’, नयाँ चलचित्र ‘गुञ्जन’मा काम गरिरहेका खनाल भन्छन्, ‘हप्तामा दुई ओटासम्म स्क्रिप्ट आए पनि कथावस्तु र आफ्नो भूमिका हेरेर मात्रै अभिनय गर्ने गरेको छु ।’

झण्डै दुई दशकपछिको कमब्याक !  

एउटा स्थापित कलाकार लामो समय अमेरिकामा बसेर स्वदेश फर्किँदा आक्रोश पोख्नुको पछाडि खनालबाट नेपाली चलचित्र उद्योगले धेरै आश गरेको थियो । 

सरोजले अभिनय गरेका ‘जन्मजन्म’, ‘दुस्मन’, ‘प्रेमपिण्ड’, ‘मनकामना’, ‘चुनौती’, ‘परिभाषा’, ‘पुकार’, ‘सान्नानी’, ‘सारंगी’जस्ता चलचित्र सफल पनि भएका थिए । यसबाहेक टेलिसिरियल र रंगमञ्चमा पनि सरोज खनालको माग र व्यस्तता कम थिएन । दिनमै आधा दर्जन चलचित्रको सुटिङमा भ्याइनभ्याइ हुन्थ्यो ।

त्यतिबेलाको व्यस्त समय सरोजका लागि ‘मोनोटोनस’ बन्यो । एउटै चलचित्रबाट त्यतिबेला एक लाख रुपैयाँसम्म पारिश्रमिक पाउने खनाललाई नाम र दामको कमी थिएन । तर पनि उनी सन्तुष्ट थिएनन् । त्यही भएर एक सांस्कृतिक कार्यक्रमका क्रममा अमेरिका पुगेका सरोज खनाल फर्किएनन् । 

एकाएक १७ वर्षपछि नेपाल फर्किँदा उनको स्वागतभन्दा बढी आलोचना भयो । कतिपयले उनलाई आफ्नो देश वृद्धाश्रम बनाएको भन्दै कटाक्ष गरे । फर्केपछिका प्राय अन्तर्वार्तामा खनाललाई किन नेपाल फर्किएको, बुढेसकाल बिताउनलाई ? पहिल्यै किन नफर्केको ? फेरि फर्किनलाई किन अमेरिका गएको त ? भनेर र्‍याखर्‍याख्ती पार्ने गरेका थिए ।

झण्डै दुई दशकपछि स्वदेश फर्केर पनि नेपाली चलत्रिमा व्यस्त भएका खनाल आफूले कामबाटै आलोचना र आरोप लगाउनेलाई जवाफ दिएको बताउँछन् । 

‘अब समय हिजो जस्तो रहेन । तर अहिलेको नयाँ पुस्तासँग भिजेर काम गर्न सजिलो छैन । दर्शकको स्वादअनुसार नयाँ धारका चलचित्रमा न्यायपूर्ण भूमिका गर्न पनि चुनौती नै छ । तर मैले एउटा कलाकारको रुपमा जे जति सिकेको छु, त्यो महत्वपूर्ण छ । ‘उमेर ढल्किँदै गए पनि आफूलाई सुहाउने र सक्ने भूमिकामा न्याय गर्नेछु’, खनालले भन्नुभयो ।

अब स्टार, सुपरस्टार होइन, कलाकार बन्नुपर्छ !

हिजो कुनै समय थियो । चलचित्रमा अभिनय गर्नु भनेको हिरो, हिरोइन, स्टार, सुपरस्टार बन्ने बनाउने होडबाजी थियो । कथा, पटकथा, पात्र, प्रवृत्तिभन्दा पनि हिरो हिरोइनलाई केन्द्रमा राखेर चलचित्र बनाइन्थ्यो ।

तर अहिले समय फेरिएको छ । कथावस्तु अनुसारको चलचित्रलाई दर्शकले मन पराउँछन् । जति राम्रोसँग चलचित्र बनाइएको छ, त्यहीअनुसार नाम र दाम आउँछ । कलाकारको चर्चा र सफलता पनि त्यसरी चुलिँदै जान्छ ।

कतिपय आफ्नो करियर राम्राे भइरहेकै बेला पलायन भएका तर अहिले फेरि स्टार, सुपरस्टारका रुपमा कमब्याक गर्न चाहेका कलाकारका लागि त्यो सहज नहुने सरोजको तर्क छ ।

‘अब हिजोको जस्तै स्टार, सुपरस्टार भनेर मात्रै हुँदैन । त्यसरी फेरि नेपाली चलचित्रमा फर्किन्छु भन्नु भ्रम मात्रै हुन सक्छ’, खनालले भने, ‘अब आफूलाई हिरो, हिरोइन सम्झिनेभन्दा कलाकार सम्झेर फर्किएमा भने सम्भावना छ । दर्शकको माया पाइन्छ । सफलता पनि त्यसैमा लुकेको छ । तर हिम्मत गर्नुपर्छ ।’

एक समयका एक्सन स्टार निखिल उप्रेती बलिउडबाट फर्के । झण्डै तीन वर्षजति भारतमा संघर्ष गरेका उनले बलिउडमा सफलता नपाएपछि नेपाल फर्किए । ‘भैरव’ र ‘लुटेरा’ मार्फत आफ्नो पुरानो छवि केही हदसम्म फर्काउन सफल पनि भए ।

तर त्यसपछि निखिलका ‘रुद्र’ र ‘पिँजडा ब्याक अगेन’ जस्ता चलचित्र प्रदर्शन भए पनि चल्न सकेनन् ।

निखिल मात्रै होइन, अर्का एक्सन स्टार विराज भट्टको हालत पनि उस्तै छ । भोजपुरी चलचित्रमा राज गरेका विराज ‘जय पर्शुराम’मार्फत नेपाली चलचित्रमा कमब्याक गर्न खोजे ।

तर चलचित्र प्रदर्शनकै बेला चलचित्रका निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भयो । त्यो घटनाले विराज भट्टको कमब्याक नै छायाँमा पर्‍यो । अहिले विराज आफैँले ‘साङ्लो’ चलचित्र निर्माण गरिरहेका छन् ।  

निखिल, विराज मात्रै होइन रमेश उप्रेती, रमित ढुंगाना, निरुता सिंह, करिश्मा मानन्धर, दिलिप रायमाझी लगायतका पुराना कलाकार फेरि सफल कमब्याकको प्रयासमा छन् । तर पहिलेको जस्तो क्रेज भने फर्काउन सकेका छैनन् ।

समयअनुसार कलाकार पनि चल्नुपर्ने भएकाले आफूलाई परिमार्जन गरेर कलाकारका रुपमा नेपाली चलचित्र क्षेत्रमा अझै योगदान दिन सकिने नायक खनालको सुझाव छ ।

‘अहिले पनि धेरै पुराना कलाकारमा पुरानै क्रेजको ह्याङ छ । तर त्यो अब सम्भव देखिँदैन’ सरोज खनाल सुझाव दिँदै भन्छन्, ‘त्यो बेलाको चलेको हिरो हिरोइन भन्दा पनि अब सफल र अभिभावकीय कलाकारका रुपमा नेपाली चलचित्रमा थप योगदान दिन सकिन्छ ।’

अन्तिम अपडेट: चैत २७, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया