मनाङको तातोपानी कुण्ड व्यवस्थित बन्दै, तातोपानीमा नुहाउँदा हाडजोर्नी तथा छालाको रोग निको हुने विश्वास

 असार ३२, २०७५ सोमबार १७:३७:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनाङको चामे गाउँपालिका वडा नम्बर ५ मा रहेको प्राकृतिक तातोपानीमा नुहाउनका लागि पहिले एउटा सानो पोखरी मात्रै थियो । त्यही एउटा सानो पोखरीमा महिला र पुरुष नुहाउनुपर्दा स्थानीयका साथै पर्यटकलाई समेत निकै समस्या थियो । 

हिमाली जिल्ला हो, मनाङ । हिउँदबर्खामै यहाँ चिसो हुन्छ । चिसो ठाउँमा रहेको प्राकृतिक तातोपानीमा नुहाउन, लुगा धुनका लागि स्थानीयसँगै मनाङसम्म पुग्ने पर्यटक लालयित हुन्छन् ।

नुहाउन र लुगा धुनको लागि समस्या भएपछि अहिले तातोपानी कुण्डलाई व्यवस्थित बनाइएको छ । पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वासका साथ चामे गाउँपालिकाकाले तातोपानी कुण्डलाई व्यवस्थित बनाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।   

मर्स्याङ्दी नदी किनारामै रहेको तातोपानी कुण्डमा नुहाउनका लागि महिला र पुरुषका लागि अलगअलग पोखरी बनाइएको छ । लुगा धुनका लागि तातोपानी कुण्ड परिसरमै ३ वटा धारा बनाइएको छ । महिला र पुरुषका लागि छुट्टाछु्टै ‘चेञ्जिङ रुम’ बनाइएको छ । शौचालय निर्माण गरिएको छ । पोखरीसम्म पुग्नका लागि सिँडी बनाइएको छ । कुण्डलाई सम्भावित कटानबाट जोगाउन मस्र्याङ्दी नदी किनारामा ‘ग्याबिन वाल’ लगाइएको छ ।           

रोग निको हुने विश्वास      

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार तातोपानी कुण्डमा नुहाउनका लागि स्थानीयसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक लोभिन्छन् । विशेषगरी शुक्रबार र शनिबार यहाँ नुहाउने र लुगा धुनेको भीड लाग्छ ।

‘मनाङको तातोपानीमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धीका रोगहरु निको हुने विश्वास गरिन्छ,’ नेगमले भन्नुभयो ।   

अहिले तातोपानीमा नुहाउन र लुगा धुनका लागि शुल्क तिर्नुपर्दैन । तातोपानी कुण्डलाई थप व्यवस्थित बनाउँदै लैजाने र तातोापनीमा नुहाउन आउनेहरुसँग न्यूनतम शुल्क लिने गरी स्थानीय सरकार अघि बढेको पनि उहाँले जानकारी गराउनुभयो ।      

आर्थिक वर्ष २०७४-७५ मा गाउँपालिकाले तातोपानी कुण्डको संरक्षणमा २३ लाख खर्चेको हो । तातोपानी कुण्डमा पर्यटकको आकर्षण बढाउनका लागि कुण्डलाई थप व्यवस्थित बनाउनु आवश्यक रहेको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी कुण्डलाई थप व्यवस्थित बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा पनि २५ लाख रुपैयाँ छुट्याएको छ । तातोपानी कुण्ड झण्डै ३ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।          
 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया