क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक: चारवटा समिति गठन गर्ने निर्णय, पारसकाे राजीनामाबारे ध्यानाकर्षण

 कात्तिक ३, २०७६ आइतबार २०:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमितिको पहिलो बैठकले चारवटा समिति गठन गर्ने निर्णय गरेको छ । 

मुलपानीमा रहेकाे क्यानको कार्यालयमा बसेको कार्यसमिति बैठकले प्राविधिक, आर्थिक, मिडिया र प्रतियोगिता समिति निर्माण गर्ने निर्णय गरेको छ । तर, कप्तान पारस खड्को राजीनामाको विषयमा भने ध्यानाकर्षण भएको निष्कर्ष निकालेको छ । 

कैठकले चारवटै समितिका संयोजक पनि तोकेको छ । आर्थिक समितिको जिम्मेवारी कोषाध्यक्ष रोशनबहादुर सिंहलाई दिइएको छ । यो समितिले आर्थिक पाटोको नियमन गर्नेछ । यस्तै संजय राज सिंहलाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ । प्राविधिक समितिले अम्पायर, प्रशिक्षक लगायत प्राविधिक पक्षको नियमन गर्नेछ । 

प्रतियोगिता समितिले हाल सञ्चालनमा रहेका विभिन्न प्रतियोगिताहरुको नियमन गर्नेछ । यस्तै क्यानको क्यालेन्डर बनाउने काम गर्नेछ । यसको जिम्मा प्रशान्त मल्ललाई दिएको छ । 

मिडिया समितिको संयोजक महासचिव आशोकनाथ प्याकुरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । ती समितिहरुमा संयोजकले आफू अनुकुल चार जना सदस्य नियुक्त गर्न सक्नेछन् । 

साथै बैठकले जिल्ला र प्रदेशमा कार्यालय सञ्चालन गरेर अघि बढ्ने निर्णय पनि गरेको छ । मुलपानीमा रहेको भवनलाई क्यानको केन्द्रीय कार्यालयको स्वरुप दिने निर्णय गरेको छ । यस्तै हाल राष्ट्रिय खेलकुद परिषद्को मातहतमा सञ्चालन भइरहेको मुलपानी र कीर्तिपुर मैदानलाई पनि आफ्नो मातहतमा ल्याउने प्रकृया सुरु गर्ने निर्णय गरेको छ । 

यस्तै क्यानको बैंक खाता खाेल्ने प्रकृया पनि अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । 

हाल आईसीसीबाट सशर्त निलम्बन फुकुवा भएको अवस्थामा प्राविधिक, प्रतियोगिता र आर्थिक समिति आईसीसीका प्रतिनिधीसँगै बसरे भावी कार्ययोजना बनाउने निर्णय पनि कार्यसमिति बैठकले गरेको छ । 

कप्तान पारसको राजीनामाको विषयमा कार्यसमिति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पारसको राजीनामा सामाजिक सञ्जालमार्फत आए पनि क्यानमा आधिकारिक जानकारी नआएकाले यसको निर्णय भने भइनसकेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयाे ।

‘के भएको हो, तथ्य कुरा बुझ्नु पर्‍यो, त्यसपछि मात्र आवश्यक कारबाही अघि बढाउने निर्णय भएको छ,’ महासचिव प्याकुरेलले भन्नुभयाे । यसको विषयमा छिटै निर्णय हुने महासचिवको भनाइ छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया