वर्षौंदेखि कोठामा थुनिएका राजुकाे उद्धार

 कात्तिक ४, २०७६ सोमबार २०:३:४० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जस्ताले छाइएको, सानो झ्याल अनि मुश्किलले एउटा खाट मात्रै अटाउने ढुंगा माटोले बनेको सानो कोठा । काठको फ्लेक बिछ्याएर बनाइएको खाट, खाटमाथि एउटा परालको गुन्द्री र ओढ्ने, ओछ्याउने केही कपडा । अनि एउटा मैलो र थोत्रो झुल । 

यही कोठाभित्र वर्षाैँदेखि बाँधिएर, थुनिएर बस्दै आउनुभएको छ, लमजुङ सुन्दरबजार नगरपालिका-२ को परेवाडाँडा सुन्दरबस्तीका राजु विक । सानै उमेरदेखि मानसिक सन्तुलन गुमाउनुभएका उहाँ वर्षाैँदेखि सानो कोठामा थुनिएर बस्दै आउनुभएको थियाे ।

‘चार कक्षा पढ्दै गर्दा १२ वर्षको उमेरदखि नै उसको अवस्था ठिक छैन । त्यसैले पढाइ पनि छाड्यो’, विककी आमा लुरीमाया कामीले भन्नुभयो, ‘सानै उमेरदेखि नै लड्ने समस्या थियो । लडेर उठेपछि ढुंगामुडा गर्ने, परिवारका साथै गाउँलेलाई पनि दुःख दिने गर्थ्याे ।’

परिवारका साथै गाउँलेलाई पनि दुःख दिने गरेका कारण गएको चार वर्षदेखि घरको खामोमा बाँध्नुका साथै कोठामा बाँधेर, ढोका थुनेर राख्ने गरिएको विकका बुवा पूर्णबहादुर कामीले बताउनुभयो ।

पूर्णबहादुर र लुरीमायाका ६ जना सन्तानमध्ये राजु माइलो सन्तान हुनुहुन्छ । अन्य छोराछोरी भने आ–आफ्नो घरबार गरी बसिसकेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण राजुको उपचार गर्न नसकिएको आमा लुरीमायाले बताउनुभयो ।

राजुको अवस्थाबारे जानकारी पाएसँगै मानव सेवा आश्रम लमजुङले समन्वय गरी जिल्ला समन्वय समिति संयोजक लोकराज पाण्डे, जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङ लगायतको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी आइतबार राजुको उद्धार गरी उपचारका लागि मानव सेवा आश्रम पोखराको जिम्मा लगाइएको छ । 

‘राजु विकको स्वास्थ्य अवस्था र मानसिक अवस्था प्रतिकुल रहेको जानकारी पाएसँगै उपचार र पुन:स्थापनाका लागि मानव सेवा आश्रम लमजुङको  समन्वयमा सरोकारवालाको रोहवरमा मानव सेवा आश्रम पोखरा पठाइएको छ,’ लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी शाहीले भन्नुभयो ।

‘उहाँलाई निको बनाएर परिवारलाई नै बुझाउने हाम्रो लक्ष्य हो । उहाँको उपचारका लागि हाम्रो तर्फबाट सक्दो प्रयास गर्नेछौँ । निको नभएसम्म उहाँलाई मानव सेवा आश्रम पोखरामै राख्नेछौँ,’ मानव सेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारीले बताउनुभयो ।

सडक मानवका साथै माया, साथ, सहारा नपाएका, मानसिक  सन्तुुलन गुमाएका मानिसहरुको उपचार र संरक्षणमा मानव सेवा आश्रमले चालेको कदम सह्रानीय रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख एवं स्थानीय लोकराज पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया