चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा डेढ करोड रुपैयाँ बराबरको फूलको कारोबार

 कात्तिक ५, २०७६ मंगलबार ११:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा डेढ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सीको भ्रमणका क्रममा स्वागत गर्न, मुख्य शहरमा बगैँचा बनाउन र कार्यक्रमस्थललाई कट् फ्लावरले सजाउन डेढ करोड रुपैयाँ खर्च भएको हो ।

कार्यक्रमस्थल सजाउनका लागि मात्रै २५ देखि ३० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चार एसोसिएसन अफ नेपालले जनाएको छ ।

पुष्पखेतीको विस्तारसँगै विभिन्न कार्यक्रमका लागि फूलको माग बढेपछि व्यवसायी पनि उत्साहित भएका छन् । नेपालमा विस्तारै फूल खेती विस्तार हुँदै गएको छ तर माग भने अझै धान्न सकेको छैन ।

धेरैजसो तिहार र भ्यालेन्टाइन डेका लागि भारतबाट फूलको आयात हुने गरेको छ । आउँदो तिहारका लागि मात्रै यसपाली भारतबाट एक करोड रुपैयाँ बराबरको फूल आयात हुँदैछ ।

पुष्प व्यवसायी उत्साहित

देशमा विभिन्न आयोजना बन्न थालेपछि पुष्प व्यवसायी उत्साहित छन् । आयोजनास्थलमा बगैंचा बन्न थालेपछि व्यवसायी उत्साहित भएका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत आयोजनामा फूलको सजावट र बगैँचा निर्माणबारे अहिले छलफल भइरहेको छ । यसले फूल खेती र बजारीकरणको सम्भावना फराकिलो पारेको छ । 

यस्तै पुष्प व्यवसायीले नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचारप्रसार गर्न पुष्प र पर्यटनलाई सँगसँगै अगाडि बढाउने भएका छन् । आउँदो चैतमा हुने राष्ट्रिय एक्स्पोमा पर्यटन वर्षकै लागि प्रचार–प्रसार गरिने फ्लोरिकल्चार एसोसियसनले जनाएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया