जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि जाजरकोटका सरोकारवालाहरुकाे प्रतिबद्धता

 कात्तिक ५, २०७६ मंगलबार २०:४१:११ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - समाजमा हुने जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि जाजरकोटमा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले सदरमुकाम खलंगामा आयाेजना गरेकाे विभेदसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवधारण र सुधारका उपाय विषयक जिल्लास्तरीय संवाद कार्यक्रममा सरोकारवालाहरुले यस्ताे प्रतिवद्धता जनाएका हुन् ।

सहभागीमध्येका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले आफनो गाउँपालिकामा दलितहरुलाई गर्ने व्यवहार लगायत समाजमा हुने कुनै पनि विभेद अन्त्यका लागि सरोकारवालाहरुसँग नजिक भएर काम गर्न चाहेको र गर्दे आएको प्रष्ट पार्नुभयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले एक्काइसौँ शताब्दीमा पनि मान्छे मान्छेमा हुने छुवाछुत र विभेद समाजमा जस्ताको त्यस्तै भएकोले आउने पुस्ताले यसलाई निमिट्यान्न पार्नुपर्ने भन्दै जातीय छुवाछुत  लगायत विभेदका विरुद्ध नगर सरकारले गर्नु पर्ने कर्तव्य पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जाजरकोटका दलितहरुको अवस्थाका विषयमा पत्रकार जनक केसी र अधिवक्ता भक्त बहादुर मल्लले समाजमा विद्यमान जातीय छुवाछुत लगायत विभेद अन्त्यका लागि कानुनमा भएको व्यवस्थाका बारेका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहभागीहरुले सरोकारवाला निकायका प्रमुखलाई जिल्लामा जातीय समानता ल्याउन आइपरेका समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रमका सहभागीहरुको जिज्ञासालाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रुकमेडा पोख्रेलले समाधान गर्दै न्याय माग्न कार्यालयमा आउन आग्रह गर्नुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले अन्यायमा परेका व्यक्तिले न्यायको लागि कार्यालय खोज्दै आए न्याय दिने बताउनु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले घटना हुनसाथ प्रहरीलाई खबर गर्न आग्रह गर्दै प्रहरीले जानकारी पाए अपराधीहरुलाई कानुनको दायरामा ल्याउने बताउनु भयो । 

सरोकारवाला निकायका प्रमुखहरुले जातीय छुवाछुत अन्त्यका लागि सबैको सोचाइमा परिवर्तन आउन जरुरी रहेको बताएका थिए ।सबैको साझा एकताको प्रयासबाट जाजरकोट जिल्लालाई जातीय छुवाछुत र विभेदमुक्त जिल्ला बनाउन सकिने उनीहरुको भनाइ थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया