रियल मड्रिडको जित, बर्खास्तीबाट जोगिए प्रशिक्षक

 कात्तिक ६, २०७६ बुधबार ७:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ पटकको युरोपेली च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित हात पारेको छ । टर्कीमा भएको खेलमा गलातासारेलाई १–० ले हराउँदै रियलले पहिलो क्लिन सिट पाएको हो ।

यो जितसँगै प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब केही कम भएको छ । ला लिगामा रियल नवप्रवेशी मालोर्कासँग अविश्वसनीय हार ब्यहोर्न बाध्य भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणका पहिलो दुई खेलमा पनि जित हासिल गर्न सकेको थिएन । स्पेनबाट आएको रिपोर्ट अनुसार यदी टर्कीमा रियल मड्रिड पराजित भएको भए जिदान बर्खास्तीमा पर्न सक्थे ।

तर, टोनी क्रुजको पहिलो हाफको गोलले जिदानेलाई बर्खास्तीबाट जोगायो । १८औं मिनेटमा हाजार्डको प्रहार क्रुजलाई लागेर गोलमा परिणत भएको थियो । खेलमा हाजार्डले गोल गर्ने खुल्ला मौका पनि पाएका थिए । तर, उनको त्यो प्रहार क्रसबारमा लाग्न पुग्यो ।

टर्कीको च्याम्पियन गलातासारेले खेल बराबरीमा ल्याउनका लागि धेरै प्रयास गरेको थियो । स्ट्राइकर फ्लोरियन एन्डोनको दुई वटा प्रहार गोलकिपर थियाबट कोट्र्वाले बचाएका थिए भने स्टेभेन एनजोन्जीको प्रहार पनि विफल भयो ।

समूह एमा रियल मड्रिडले अघिल्ला दुई मध्ये एकमा बराबरी र एकमा पराजय भोगेको थियो । गलातासारेलाई हराएसँगै रियल मड्रिडले समहमा चार अंक बनाएको छ । 

समूह एमा फ्रेन्च क्लब पीएसजीले शतप्रतिशत जित निकाल्न सफल भएको छ । उसले बेल्जियमको क्लब ब्रुगेलाई ५–० ले हरायो । पीएसजीलाई शतप्रतिशत जित दिलाउने क्रममा केलियन एमबाप्पेले ह्याट्रिक गर्दा माउरो इकार्डीले दुई गोल गरेका थिए ।

सातौं मिनेटमा इकार्डीले एंगल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा चार गोल थप्यो । ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता २–० मा लम्ब्याए । त्यसको दुई मिनेटपछि एमबाप्पेको पासमा इकाडीले गोल गरे ।

७९ र ८३औं मिनेटमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरे । पछिल्ला दुवै गोल एमबाप्पेले डी मारियाको पासमा गरेका थिए ।

समूह एमा शतप्रतिशन जितसहित पीएसजी शीर्ष स्थानमा छ भने रियल मड्रिड चार अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । क्लब ब्रुगेको दुई अंक छ भने गलातासारेको एक अंकमात्र छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया