जाजरकोटमा विप्लव कार्यकर्ताद्वारा नेकपाका केन्द्रीय सदस्यमाथि आक्रमण

 कात्तिक ६, २०७६ बुधबार १२:१७:५३ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि बुधबार बिहान आक्रमण भएको छ । जाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन जाँदै गर्दा बाटोमै नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो बाटोमा हिँडिरहेको बेला एक्कासि विपरित दिशाबाट आएका पाँच जना मध्येका एक जनाले सुरुमा र त्यसपछि सबैले लट्ठी प्रहार गरी आफूहरुलाई घाइते बनाएको डम्बरबहादुर सिंहले बताउनुभयो । 

केन्द्रीय सदस्य निरज आचार्यले टेलिफोनमा भन्नुभयो ‘गौरामा बसेर आक्रमण गर्ने योजना बनाएका रहेछन्, अप्ठेरो ठाउँमा पुग्ने बित्तिकै आक्रमण सुरु भयो माथिबाट ढुङ्गा गुडाएर अगाडि बढ्न पनि दिएनन् त्यसपछि हामी फर्कियौँ अहिले नलगाडन नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराइरहेका छौँ ।’

आफूलाई विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता बताउने अर्जुन नामका युवाले बेस्सरी गाली गर्दै लौराले पिटेको डम्बरबहादुर सिंहले बताउनुभयो ।

नेकपाका जाजरकोट पार्टी अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद् भएको र घटनामा संलग्न भएकाहरुलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । यसबारे जाजरकोट प्रहरीले घटनाको बारेमा भर्खरै थाहा पाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले घटनाबारे जानकारी पाएपछि घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरिसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भइहेको बताउनुभयो । 

विप्लव नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वलीले नेकपाको सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेका कारण यस्तो कदम चालिएको बताउनुभयो । यस्तै, जिल्लाका अन्य पालिकामा पनि सत्तारुढ दल नेकपाका नेतामाथि आक्रमण हुन सक्ने चेतवानीसमेत उहाँले दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया