द्वन्द्व पीडितको पीडा : खुशी खोसियो, कोख रित्तियो

 कात्तिक ७, २०७६ बिहिबार १२:५०:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - उमेरले छ दशक काटिसकेको छ, आफ्नै घर पनि बिस्तारै बिरानो हुँदैछ । बुढेसकाल लाग्दैछ । घर खरले छाएको छ, भित्ता माटोले लिपिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका ९ का ६१ बर्षीय भीमबहादुर रखाल सुस्केरा हाल्दै घरको पिँडीमा थ्याथ्च बस्नुहुन्छ । उहाँकी ६० वर्षीया पत्नी बर्तमायाँ घर नजिकैको खोरमा रहेको बाख्रालाई घाँस हाल्न जानुहुन्छ । तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा भीमबहादुरले दुई छोरा गुमाउनुभयाे । 

जेठा छोरा अर्जुनको त पत्तो नै लागेको छैन । २०५७ सालमा सादा पोशाकमा खटिएका प्रहरीले बल खेल्ने क्रममा रौतहटबाट अर्जुनलाई पक्राउ गरेर बेपत्ता बनाएका हुन् । अर्जुनको विषयमा उहाँलाई केही थाहा छैन । कान्छो छोरा डिलबहादुर भने २०६० सालतिर सिरहाकाे भिडन्तमा मारिएको पार्टीका मान्छे (तत्कालीन माओवादी) का कार्यकर्ताहरुले भीमलाई जानकारी गराएका छन् ।

डिलबहादुरको पनि शव उहाँले पाउनुभएन । काजकिरिया दुवै छोराको बाँकी छ । उहाँले छोराहरुको अभावमा बाँच्नै गाह्राे भएको पीडा पोख्नुभयाे । अहिले हिजो युद्ध गरेकै पार्टी सरकारमा भए पनि आफूहरुलाई कहिल्यै नहेरेको देख्दा आफूहरुलाई पनि मारिदिए हुन्थ्यो जस्तो लागेको भीमबहादुरको भनाइ छ ।

पढाइ रोकियो

अर्जुन रखाललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाउँदा उनकी छोरी लक्कीकाे उमेर दुई वर्ष थियाे, अहिले उहाँ १९ वर्षकाे हुनुभयाे । बुवाको नाममा राज्यले दिएको दश लाख रुपैयाँमध्ये केही रकम खर्च गरेर उहाँले कक्षा १२ सम्मको पढाइ सक्नुभएकाे छ । अब पैसा नभएका कारण पढ्न नपाएको लक्कीले गुनासो गर्नुभयो ।

कमाउने, संरक्षण गर्ने बावु नै नभएपछि आफ्नो पढाइ रोकिएको उहाँले बताउनुभयो । अर्जुनकी पत्नी पद्मा रानाले रौतहटको चपुरमा सानो पसल सञ्चालन गरेकाे र त्यही पसलकाे आम्दानीले आफूहरुको गुजारा चलेको लक्कीको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया