के जनावर तथा चराचुरुङ्गी पनि समलिंगी हुन्छन् ?

 असार ३२, २०७५ सोमबार २०:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बीसौँ शताब्दीका चर्चित अमेरिकी गीतकार तथा कम्पोजर कोल पोर्टरका लोकप्रिय गीतहरुमध्ये एउटा गीत छ – ‘बर्ड्स डु इीट, बीज डु इट...लेट्स डु इट, लेट्स फल इन लभ...।’ यसलाई नेपालीमा उल्ठा गर्ने हो भने, जे पंक्षी गर्छन्, जे मौरीले गर्छन्, आउ हामी पनि गरौँ, आउ प्रेम  गरौँ ।’ यो गीत कैयौँ वर्षदेखि एलजीबीटीक्यू(लेस्बियन–गे–बाइसेक्सुअल–ट्रान्सजेन्डर–क्वीर) समुदायका लागि एन्थम बनिरहेको छ ।

कोल पोर्टरले यो गीत प्रेमको कुन पक्षलाई देखाउन लेखे त्यो त थाहा छैन, साथै यसले उनको सेक्सुआलिटी अर्थात यौनिकताबारे पनि केही भन्दैन । तर पनि एलजीबीटीक्यू समुदायले यो एउटा सरल प्रेमगीतलाई होमोसेक्सुआलिटी अर्थात समलैंगिकता कुनै अप्राकृतिक कुरा नभएको सन्देश दिनलाई प्रयोग गर्दै आएका छन् । उनीहरुले यो सन्देश दिन चाहन्छन् कि समलैंगिता मानव जगतमा मात्रै होइन, जीवजन्तुमा पनि हुन्छ । 

तर एउटा प्रश्न भने सबैको मनमा उब्जन्छ, के साँच्चै गीतको अर्थ निकालिएझैँ पंक्षी, मौरी तथा बाँकी जीवजन्तुमा पनि समलैंगिकता पाइन्छ त ?   

नोबेल पुरस्कार विजेता अष्ट्रियाका जूलोजिस्ट कोन्राड लोरेन्जले सन् १९५० देखि ६० को दशकको बीचमा झण्डै एक हजार ५ सय प्रजातिका जनावरमा यसैका बारेमा अनुसन्धान गरेका थिए । उनको यो अनुसन्धानबाट पत्ता लागेको थियो झण्डै ४ सय ५० प्रजातिका जीव समलैंगिक हुन्छन् । यस्तै खोज क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डाक्टर नाथन बेलीले एउटा अनुसन्धानमा गरेका छन् । 

सन् २००४–२००५ मा प्रकाशित बेलीको सोधपत्रमा हरेक प्रजातिका जीवजन्तुमा अलग–अलग प्रकारको समलैंगिक व्यवहार देखिने बताइएको छ । एउटा भाले डल्फिन  सन्तान जन्माउनका लागि मात्रै पोथी डल्फिनको सम्पर्कमा रहने बताउँदै बेलीले अरु बेला भाले डल्फिनसँगै समय बिताउने बताएका छन् । त्यस्तै झिँगा पनि आफ्नो अगाडि रहेको अर्को झिँगाको लिंग पहिचान गर्न असमर्थ हुने भएकाले समलैगिक व्यवहार अपनाउने उनको सोधमा पत्ता लगाइएको छ । 

त्यस्तै हाँसको केही प्रजातिमा समलैंगिक व्यवहार पाइने गर्छ । क्यानडियन गीज प्रजातिको हाँसमा यस्तो व्यवहार पाइन्छ । यस प्रजातिको भाले हाँस जीवनभर भाले साथीसँगै बस्ने गर्छ भनिन्छ । प्रजननका लागि केही समय पोथी हाँससँगको सम्पर्कमा रहे पनि उ बाँकी समय भाले साथीसँगै बिताउने गर्दछ । 

सबैभन्दा अग्लो जनावर जिराफमा त दशमध्ये नौ भाले जिराफ समलैंगिक हुन्छन् भनिन्छ । त्यस्तै चिम्पान्जीको एक पैजाति बोनोबोमा करिब ६० प्रतिशत समलैंगिक हुने गर्छन् । त्यस्तै सिंह, बाँदर, भेँडालगायतका जनावरमा पनि समलैंगिक व्यवहार हुने गर्छ । 

त्यस्तै ब्ल्याक स्वान, पेन्गुइन, सारस जस्ता पंक्षीहरुमा पनि समलैगिता पाइन्छ । जनावरको यौनिकताले भलै मानव समाजमा केही प्रभाव नपारोस्, यी तथ्यले समलैंगिक सम्बन्ध राख्ने व्यक्तिलाई अप्राकृतिक बताउनेहरुको तर्कलाई धरासायी बनाएरै छाड्छ । यसबाट यो प्रष्ट हुन्छ कि समलिंगी हुनु कुनै अप्राकृतिक कुरा होइन ।

-एजेन्सीकाे सहयाेगमा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया