चुहानडाँडामा विमानस्थल बनाउने रवीन्द्र अधिकारीकाे सपना पूरा हुन्छ: मन्त्री भट्टराई

 कात्तिक ७, २०७६ बिहिबार १६:५१:५८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार पछि नहट्ने बताउनुभएको छ ।

बिहीबार स्थलगत अवलोकन गर्न पुग्नुभएका मन्त्री भट्टराईले हरेक दृष्टिकोणले चुहानडाँडा क्षेत्र विमानस्थलको लागि उपयुक्त भएकाले यहाँ विमानस्थल निर्माण हुने बताउनुभएको हो ।

तेह्रथुमसँगै पाँचथर र ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि यो क्षेत्र पायक पर्ने भएकोले यस क्षेत्रमा विमानस्थल निर्माणको लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयाे । विमानस्थल निर्माणको लागि अहिले विस्तृत प्रतिवेदन बनाउने प्रक्रिया अगाडि बढिसकेको भन्दै मन्त्री भट्टराईले सकेसम्म यही आर्थिक वर्षभित्र नै विमानस्थल निर्माण कार्य थालनी हुने समेत बताउनुभयो ।

अर्काे प्रसंगमा मन्त्री भट्टराईले यस क्षेत्रमा विमानस्थल निर्माणको लागि स्थलगत अवलोकनमा आउनुभएका बेला तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको क्षणलाई सम्झँदै यही दुखद घटनाकै कारणले पनि यहाँ विमानस्थल निर्माण गर्न दबाब भएको उहाँको भनाइ थियाे । चुहानडाँडामा विमानस्थल बनाउने स्वर्गीय रवीन्द् अधिकारीकाे सपना पूरा भएरै छाड्छ ।

तत्कालीन मन्त्री अधिकारीको चुहानडाँडा विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गरेर फर्किने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि गएको फागुन १५ गते निधन भएको थियो । यस क्षेत्रमा विमानस्थल निर्माणको लागि जग्गा अपुग रहेको भन्दै मन्त्री भट्टराईले जग्गा उपलब्ध गराउन स्थानीयलाई आग्रहसमेत गर्नुभयो ।

आठराई गाउँपालिका–६, चुहानडाँडामा विमानस्थल निर्माणको लागि २०१७ सालदेखि नै चर्चा चल्दै आएको थियो । तर विमानस्थल निर्माणको लागि काम अघि नबढ्दा स्थानीय निराश हुन थालेका थिए । मन्त्री भट्टराई आफैँ पुगेर विमानस्थल बन्ने आश्वासन दिएपछि विमानस्थल निर्माण हुनेमा स्थानीय आशावादी बनेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया