९० प्रतिशत फोहोर ‘ल्याण्डफिल्ड साइट’ लैजानै पर्दैन : खनाल

 कात्तिक ८, २०७६ शुक्रबार १३:१६:५२ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा फोहोरमैलाको समस्या नयाँ र नौलो होइन । हरियाली कम, धुवाँधुलो धेरै, सडक तथा नदीहरुमा फोहोर थुपार्नु लगायतका कारण घर बाहिर निस्कँदा दुर्गन्धको सामना गर्नैपर्छ । 

काठमाण्डौमा कुनै कारण एक दिन मात्र फोहोर उठाइएन भने सडकमा जानै नसक्ने अबस्था हुन्छ । यस्तो अबस्था एक दिन मात्र हैन, कहिले त हप्ता दिनभन्दा धेरै पनि हुन्छ । फोहोर उठाउन नसक्नुको मुख्य कारण फोहोर थुपार्ने ठाउँ अर्थात् ‘ल्याण्डफिल्ड साइट’ नहुनु हो । तर काठमाण्डौमा फोहोरको समस्या नै नहुनुपर्ने जानकारहरु बताउँछन् । 

तथ्याङ्क अनुसार काठमाण्डौ उपत्यकाबाट दैनिक १ हजार २५० टनको हाराहारीमा फोहोर निस्कन्छ । योमध्ये एक हजार टनको हाराहारी फोहोर ‘ल्याण्डफिल्ड साइट’मा लगिन्छ । अनुमानित २ सय ५० टन फोहोर विभिन्न तरिकाबाट व्यवस्थापन भैरहेको छ । ल्याण्डफिल्ड साइटमा लगिनेमध्ये ६० प्रतिशत अर्थात झण्डै ६ सय टन फोहोर कुहिने किसिमको हुन्छ । 

यो तथ्याङ्क ठूलो नभएको र यसलाई सजिलै व्यवस्थापन गर्न सकिने फोहोर संकलन तथा व्यवस्थापनको काम गर्दै आएको संस्था ‘ब्लु वेष्ट टु भ्यालु’का मेनेजर आशिष खनाल बताउनुहुन्छ ।

खनाल भन्नुहुन्छ ‘कुल फोहोरको ९० प्रतिशत फोहोर ल्याण्डफिल्ड साइट नलगिकनै व्यवस्थापन गर्न सकिन्छ, बढीमा १० प्रतिशत फोहोर थुपार्ने ठाउँमा लैजानुपर्ने हो । यसो गर्दा काठमाण्डौको फोहोर धेरै होइन, अहिले त ८० प्रतिशतकै हाराहारीमा फोहोर ल्याण्डफिल्ड साइट लैजाँदा धेरै भएको हो ।’

व्यवस्थापन कहाँ त ?

खनाल भन्नुहुन्छ ‘यो कुनै नयाँ र असजिलो काम हैन फोहोरको बर्गिकरण गर्ने र पुनःप्रयोग गर्न मिल्ने जति प्रयोग गर्ने, यसका लागि ठूलो प्रविधि पनि चाहिँदैन, फोहोर व्यवस्थापनको ज्ञान र सामान्य प्रविधिबाट नै हुन्छ ।’

खनाल आफूहरुले अहिले दैनिक झण्डै १० टन फोहोर व्यवस्थापन गरिरहेको र बढीमा १० प्रतिशत मात्रै ल्याण्डफिल्ड साइटमा पठाइरहेको उदाहरण दिँदै इच्छाशक्ति भएमा व्यवस्थापन गर्न सकिने बताउनुहुन्छ । यसको लागि श्रोतमै फोहोर बर्गिकरण आवश्यक रहेको खनालको भनाइ छ । 

श्रोतमै फोहोरको वर्गिकरण 

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद २, दफा ९ को उपदफा ३ बमोजिम फोहोरलाई स्रोतमै छुट्याउनुपर्छ । र त्यसरी छ्ट्याएको फोहोर छुट्टाछुट्टै संकलन गरी लैजानुपर्छ । 

कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्नुपर्ने र फोहोर संकलन गर्ने पालिका तथा संस्थाले पनि छुट्टाछुट्टै ढुवानीको व्यवस्था गर्नुपर्छ । यही कानुनी व्यवस्थालाई कार्यान्वयन गरेर हरेक घर तथा फोहोर उत्पादन हुने ठाउँमै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ । 

कुहिने र नकुहिने फोहोर संकलन गरिसकेपछि त्यसलाई अझै वर्गिकरण गर्नुपर्छ । त्यो कामको जिम्माचाहिँ फोहोर संकलन तथा व्यवस्थापन गर्नेको हुन्छ । 

फोहोर संकलनकर्ताको भूमिका

श्रोतबाटै कुहिने र नकुहिने छुट्याएर ल्याएको फोहोरमध्ये नकुहिने फोहोरमा कवाडीका रुपमा बिक्री हुने धेरै वस्तु हुन्छन् । प्लाष्टिक, सिसा, फलाम लगायतका धातु, कागज, काठ लगायतका सामान कवाडीमा बिक्री हुन्छन् । 

कम ग्रेडका प्लाष्टिक, रंगीचङ्गी सिसा, चाउचाउ तथा लेज, कुरकुरेलगायतका खोल, जुसका प्याकेट तथा डब्बालगायत केही सामाग्री कवाडीमा बिक्री हुँदैनन् । ती सामग्री मात्रै ल्याण्डफिल्ड साइटमा पठाउनुपर्ने भन्दै खनाल भन्नुहुन्छ ‘त्यस्ता सामाग्री कुल फोहोरको १० प्रतिशत भन्दा धेरै हुँदैनन् ।’

कुहिने फोहोर त शत प्रतिशत नै व्यवस्थापन गर्न सकिन्छ । आफूहरुले शत प्रतिशत कुहिने फोहोर व्यवस्थापन गरिरहेको दाबी गर्दै खनाल यो समस्याको विषय नभएको बताउनुहुन्छ । ल्याण्डफिल्ड साईटमा फोहोरको पहाड नै बनेर सरकारकै टाउको दुखाइरहेको बेला कुहिने सबै फोहोर ल्याण्डफिल्ड साइट नलगिनै कसरी व्यवस्थापन गर्ने त ? 

खनालको सहज जवाफ छ, ‘नकुहिने फोहोरलाई पनि वर्गिकरण गर्ने । पहिला बंगुरलगायत पशुचौपायलाई खाना हुने खालको छुट्याउने जसको माग काठमाण्डौ उपत्यकामा धेरै छ । बंगुरफार्मले त्यस्तो बस्तु सजिलै किन्छन् ।’

पशुचौपायको खाना नहुने वस्तुलाई छुट्याएर कम्पोष्ट मल र आगो बाल्ने ब्रिगेट बनाउन सकिन्छ । जसको बजार पनि राम्रो छ । काठमाण्डौ उपत्यका मात्र हैन, देशभरबाट उत्पादन हुने फोहोरलाई पनि यही तरिकाबाट सजिलै व्यवस्थापन गर्न सकिने खनाल बताउनुहुन्छ । 

अझ हरेक घरधुरीलाई तालिम दिन सकेमा कुहिने फोहोर घरघरमै व्यवस्थापन हुने खनाल बताउनुहुन्छ । सामान्य प्राविधिक जानकारी लिएमा भान्सामा अथवा सुत्ने कोठामै भाँडो राखेर मल बनाउन सकिने र गड्यौँला पालन लगायतका काम गरेर कुहिने फोहोर व्यवस्थापन गर्न सकिने उहाँ बताउनुहुन्छ । 

मल बनाउँदा दुर्गन्ध आउँछ भन्ने चिन्ता धेरैलाई हुन्छ । तर खनाल मल कुहिएर नभइ पाकेर बन्ने र केही पनि कुरा पाक्दा दुर्गन्ध नआउने भन्दै कुहिनबाट जोगाउन केही घण्टाको तालिम प्रयाप्त हुने बताउनुहुन्छ ।

यसरी घरघरमै वा संकलनकर्ताले पनि कुहिने फोहोरको शत प्रतिशत व्यवस्थापन गर्न सकिने र जसको कारण ल्याण्डफिल्ड साईट चाँडो भरिने तथा त्यहाँ दुर्गन्ध फैलने समस्या सजिलै हल हुने खनालको भनाइ छ । 

फोहोर व्यवस्थापनका चुनौती

फोहोर व्यवस्थापनमा देखिएको मुख्य चुनौती जनशक्तिको अभाव हो । फोहोर व्यवस्थापन सम्बन्धी दक्ष जनशक्तिका साथै यस क्षेत्रमा काम गर्न चाहने जनशक्तिको पनि अभाव रहेको छ । यसका साथै फोहोर संकलन, संकलित फोहोरको ढुवानी, व्यवस्थापन लगायतका काममा बेला–बेला आइरहने अवरोधले पनि फोहोर व्यवस्थापनमा चुनौती थपिदिने गरेको छ ।

यसका साथै फोहोरमा हुने राजनीति, काम गर्नेलाई जिम्मा नदिने, कसैको आम्दानीको स्रोत खोसिएको भन्दै व्यवस्थित रुपमा काम गर्नेहरुले सहज रुपमा काम गर्न नपाउनु पनि समस्या रहेको छ । 

स्रोत साधनको अभाव

अहिलेको स्रोतसाधनले काठमाण्डौ उपत्यकाको फोहोर संकलन गर्न पुग्दैन । संकलन गरिएको फोहोरको व्यवस्थापन गर्न पूर्वाधार तथा सामग्रीको कमी छ । विभिन्न निजी संस्थाहरुबाट संकलन हुने फोहोर व्यवस्थापनमा पनि स्थानको अभाव रहेको छ । धेरैजसो निजी संस्थाले सडक किनार तथा फोहोर बोक्ने गाडीमै केही मात्रामा फोहोर छुट्याएर बाँकी फोहोर ल्याण्डफिल्ड साइट ओखरपौवा लैजाने गरेका छन् ।

जिम्मेवारी 

फोहोर व्यवस्थापनको जिम्मेवारी सरकारले सम्बन्धित पालिकाहरुलाई दिएको छ । पालिकाहरुले ऐन तथा कार्यविधि बनाएर फोहोर व्यवस्थापनको काम गर्नुपर्छ । आफ्नो क्षेत्रलाई कसरी सफा राख्ने भन्ने जिम्मेवारी पालिकाको भएकोले पालिकाले फोहोर व्यवस्थापनको प्राविधिक ज्ञान लिएर उचित व्यवस्थापन गर्नुपर्छ । अहिले भएको फोहोरमाथिको राजनीति र समस्या सल्टाउने भन्दा त्यहाँ निश्चित समूहले लिइरहेको आम्दानी मात्र हेर्ने परिपाटी रोकिनुपर्छ । 

कतिपय पालिकाहरुले नजानेर त कतिपयले जानेर पनि नचाहेर फोहोरको व्यवस्थापन गरिरहेका छैनन् । यसको मूल्य आम नागरिकले चुकाइरहनु परेको छ । यसैले फोहोरको सही व्यवस्थापन र फोहोर व्यवस्थापनका लागि पालिकाले लगानी हैन, आम्दानी गर्ने अवस्था ल्याउन पालिकाहरुले नै पहल गर्नुपर्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

अन्तिम अपडेट: पुस २२, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया