बल्कोट पौवा : जहाँ जंगबहादुरको न्वारन गरिएको थियो !

 जेठ ९, २०७५ बुधवार १३:१८:१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची, जेठ ९ – जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवामा दिनहुँजसो राजनीतिक भेटघाट र कार्यक्रमहरु भए पनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन ।

प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ, तथा अन्य मन्दिरहरु समेत रहेका छन । 

विक्रम सम्वत १९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरु निर्माण गरिएको स्थानीय नागरिक ७५ वर्षीय टेकराज पौडेलले बताए । 


जंगबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । जुम्लामै रहँदा श्रीमती गर्भवती भइन । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन् । जंगबहादुर ७ महिनामा जन्मिएका थिए । 

त्यसबेला लामपाटीमा घनाघोर जंगल रहेको थियो । नजिकैका पाण्डे थरका कृषकहरुले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह  राखेको संस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराइले बताए । 

सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन । पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो उनको भनाई छ । 
जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाई रहेको छ ।  

इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको  उल्लेख गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरु प्रोफेसर पन्त र जवराको विष्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेशस गरिएको उनले बताए । 

आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जंगबहादुर आफैले कर्णेल सनदसिंहलाई लगाएका थिए ।  

पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनको लागि सयाैँ बिगाहा जमिन गुठीमा समेत रहेको छ ।  केही समयअघि सम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । छत्रदेव गाँउपालिका वडा नम्बर २ का अध्यक्ष राजेश पन्थीका अनुसार अहिले पूजाआजा भैरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ । 

पौवामा काठका आकृतिमा यौन अंग र विभिन्न यौन आसन देखाइएको छ । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीयले बताउँछन । तर कसले, कहिले, कसको हात काटेको भन्ने कसैले बताउन सकेका छैनन । 

कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तको पौवा र वाटोमा रहेका गौमुखी धाराहरु निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराइले बताए । 

बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उदेश्यले २०६६ सालमा डाक्टर गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनवन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रारमा अघि बढ्न खोजे पनि प्रचार ्रसार हुन नसकेको स्थानीय युवा पिताम्वर खनालले बताए । लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उनको भनाई छ । 

सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटकीय स्थल बनाउन सकिन्छ । यसका लागि सबैले पहल गर्न जरुरी छ । 

अन्तिम अपडेट: साउन ३०, २०७५

प्रेमनारायण आचार्य

उज्यालोका अर्घाखाँची सहकर्मी प्रेमनारायण आचार्यलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया