नारायणगढ–बुटवल सडक चार लेन बनाउने काम सुरु

 कात्तिक ९, २०७६ शनिबार ११:४:३२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम पूर्वी खण्ड नवलपरासी पूर्व नवलपुरबाट सुरु गरिएको छ ।

कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैँडाकोटको थुम्सीबाट सडक विस्तारको काम सुरु गरिएको हो । गैँडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको छ ।

जंगल क्षेत्रमा रुख कटानको अनुमति लिन समय लागेको  र  खानेपानी र विद्युत्को पूर्वाधारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्ष निकालेर काम गर्नुपर्ने भएकाले सडक विस्तारको काममा ढिलाइ भएको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले बताउनुभयो ।

योजना प्रमुख अधिकारीका अनुसार सडक विस्तारको काम पूर्वी खण्डमा  गैँडाकोट  (जिरो किलोमिटर) बाट  कल्भर्टको काम थालनी गरिएको छ । त्यस्तै कावासोतीको खरकट्टाबाट माटो भर्ने(फिलिङ) काम सुरु गरिएको छ ।  साना खोल्साहरुमा रहेको  कल्भर्ट पूर्ण रुपमा प्रतिस्थापन गरिने  ( नयाँ कल्भर्ट) बनाइने जनाइएको छ ।

रुख कटानको अनुमति अझै नआएकाले रुख कटान गर्न नपर्ने क्षेत्रबाट कल्भर्ट र माटो भर्ने काम सुरु गरिएको योजना प्रमुख अधिकारीले बताउनुभयो  । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोश्रो पटक फेरि वातावरणीय अध्ययन गर्नु परेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको अधिकारीले बताउनुभयो ।

दोश्रो पटकको वातावरणीय अध्ययनबाट  कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको तर, रुख कटानकै  स्वीकृति भने अझै नआएको अधिकारीको भनाइ छ ।

तिहारलगत्तै रुख कटानको  अनुमति आउने र काम पनि धमाधम सुरु हुने अधिकारीले बताउनुभयो  । सडक विस्तारसँगै पुलको कामसमेत सँगसँगै सुरु गरिने अधिकारीले जानकारी दिनुभयो । यस सडक खण्डमा रहेका ठूला पुलहरुसँगै फेरि दुई लेनको समानान्तर पुल निर्माण गरिने भएकाले त्यसको काम समेत अहिले भैरहेको छ ।

निर्माण कम्पनीले रजहरमा पुलका लागि आवश्यक पर्ने रेडिमिक्स कंक्रिट निर्माण  र पुलका लागि आवयक पर्ने सामग्रीहरु निर्माण गर्ने काम गरिरहको अधिकारीले जानकारी दिनुभयो । यसैगरी पहिलो खण्ड गैडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा कम्तीमा १५ वटासम्म जैविकमार्ग निर्माण गरिने  अधिकारीले जानकारी दिनुभयो ।

जंगली जनावर वारपार गर्नका लागि सडकमुनिबाट अन्डरपास र सडक माथिबाट ओभरपास निर्माण गरिने छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले  जनावाका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने जनाइएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया