तिहारमा सयपत्रीकाे आयात घट्याे: फूलमा आत्मनिर्भर बन्दै

 कात्तिक ९, २०७६ शनिबार १५:५०:१८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – तिहार सुरु हुन लागेसँगै सयपत्री, मखमली, गोदावरीजस्ता फूलको कारोबार बढेको छ । तिहारमा मात्र होइन, अरु बेला पनि फूलको उत्तिकै महत्व हुन्छ । स्वागत, साैन्दर्य, सजावट तथा धार्मिक कार्यमा फूलको प्रयोग हुन्छ । घर आँगनमा ढकमक्क फूल फूलेसँगै तिहारको रौनक सुरु भएको छ । 

तिहार, छठ जस्ता चाडपर्वमा अरु बेलाभन्दा फूलको माग बढी हुन्छ । एकैपटक धेरै माग हुँदा स्वदेशी उत्पादनले पुग्दैन । त्यसैले हरेक वर्ष भारतबाट फूल आयात गर्ने गरिन्छ ।

तर पछिल्ला वर्षहरुमा भारतबाट फूलको आयात घट्न थालेको छ । विगतमा भन्दा यसपाली भारतबाट फूल कम आयात हुने भएको छ । गएको वर्ष ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला आयात भएकोमा यस वर्ष झण्डै सवा २ लाख मात्रै सयपत्रीको माला आउने फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । 

फूल खेती फस्टाउँदै 

बर्सेनि फूल खेती फस्टाउँदै गएपछि आयात घटेको हो । पछिल्ला वर्ष नेपालमा फूल खेती तथा नर्सरी बढ्दै गएका छन् । माग बढेपछि व्यवसाय पनि बढेको छ । फूल फूलाउन खासै समस्या नरहेको व्यवसायीको अनुभव छ । 

माग पनि राम्रै भएकाे तर बजारसम्म ल्याउन भने समस्या रहेकाे बताउनुहुन्छ, व्यवसायिक रुपमा फूल खेती गर्दै आउनुभएका विद्या नर्सरीका दुर्गा सापकोटा । बजारमा फूलको माग बढेसँगै व्यवसायिक फूल खेती गर्नेहरु पनि थपिँदै गएका छन् । 

सापकोटाजस्ता ७ सयभन्दा धेरै उद्यमी व्यवसायिक रुपमा फूल खेतीमा लागेका छन् । फूल खेतीमा झण्डै ४५ हजारले रोजगार समेत पाएका छन् । देशैभर १ सय ५७ हेक्टर क्षेत्रफलमा फूल व्यवसाय भैरहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । 

माग धान्न २०६४/६५ तिर झण्डै ८० प्रतिशत फूल आयात गर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । नेपालमै उत्पादन भएको फूलले नेपाली बजारको ८० प्रतिशत माग पूरा गरेको छ । फूलको धेरै माग हुने तिहार र छठ पर्वका लागि मात्रै आयात हुने गरेको छ । 

सयपत्री आउँछ, मखमली जान्छ

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट आउँछ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । 

मखमली झण्डै २ लाख निर्यात हुँदा सवा २ लाख सयपत्रीका माला ल्याउनुपर्ने देखिएको छ । गएको वर्ष तिहारमा १७ लाख माला खपत भएकोमा ३ लाख माला आयात गरिएको थियो । 

तर यसपाली २२ देखि २५ लाख तयारी मालाको माग हुने अनुमान एसोसिएशनको छ । तिहारमा सयपत्री फूलको माला बढी माग हुने भएकाले भारतबाट ल्याउनुपर्ने हुन्छ । 

सयपत्री आयात गरे पनि नेपाली बसोबास गरेका देशमा तिहार मनाउन मखमली फूल निर्यात हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४२ करोडको फूलको कारोबार भएकोमा यो वर्ष साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने एसोसिएशनको अनुमान छ ।

फूलमा आत्मनिर्भर उन्मुख

पर्व विशेषमा यसै पनि फूलको माग हुन्छ । पछिल्ला वर्ष बढ्दो शहरीकरणले फूलको माग बढेको छ । फूलको माग बढेसँगै व्यवसाय पनि फस्टाउँदै गएको छ । काठमाण्डौ उपत्यकाभित्र सीमित नर्सरी मुख्य शहर पोखरा, बुटवल, नारायणघाट, विराटनगर, धरान, धनगढी जस्ता विभिन्न शहरमा फैलँदै गएको छ ।ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, झापा लगायतका ४३ जिल्लामा फूल खेती विस्तार भएको छ । विदेशबाट फर्केका युवाहरु फूल खेतीमा लागेका छन् । 

स्थानीय स्रोत साधनको प्रयोग तथा पालिकाले समेत सहयोग गर्न थालेपछि पनि फूलखेतीमा आकर्षण र उत्साह बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । सरकारले धेरैथोरै भए पनि व्यवसाय गर्नेलाई प्रोत्साहन दिने गरेको छ ।

सरकारसँग सहकार्य गरी ४२ हजार वर्गमिटर ग्रीनहाउस समेत जडान गरिएको फ्लोरिकल्चर एसाेसिएशनले जनाएको छ । तर गाउँमा उत्पादन भएका फूल बजारसम्म आइपुग्न नसक्दा थोरै आयात गर्नुपर्ने एसोसिएशनको दाबी छ । 

फूलमा आत्मनिर्भर उन्मुख अवस्था छ तर आत्मनिर्भर नै हुन भने ग्रीन हाउस बढाउने, खेती थप विस्तार गर्ने, गाउँघरमा फूल्ने फूललाई बजारसम्म ल्याउने तथा रित्ता बनपाखाको सदुपयोग गर्न सकिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया