लाप्राकको बस्ती निर्माणबाट हात झिकेका छैनौँ, दुई महिनाभित्र पूरा गर्छौँ : एनआरएनए अध्यक्ष पन्त

 कात्तिक ९, २०७६ शनिबार १७:५०:९ | किरण लोहनी
unn.prixa.net

गोरखा - गैर आवासीय नेपाली संघ एनआएनएका अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमुना बस्ती निर्माणको काम अबको दुई महिनाभित्र पूरा हुने दावी गर्नुभएको छ ।

लाप्राकको गुप्सीपाखामा बन्दै गरेको बस्ती निर्माणको कामबाट एनआरएनए अलग नभएको भन्दै उहाँले छिट्टै सरकारलाई बस्ती हस्तान्तरणको तयारी भैरहेको पनि बताउनुभयो । ‘लाप्राक हामीले छाड्ने भन्ने कुरै हुँदैन, गाउँलेहरुले काठ लगायत केही सामान जुटाउनु पर्ने भन्ने सम्झौता छ, पर्खाल लगाउनु पर्ने, बीचबीचमा बाटो बनाउनु पर्नेजस्ता पुननिर्माण प्राधिकरणसँग सम्झौतामा नभएका काम पनि हामीले गर्नुपर्नेछ’ उहाँले भन्नुभयो, ‘केही ढिला भएकै हो, तर हामीलाई दिएको सबै जिम्मेवारी पूरा गरेर बस्ती हस्तान्तरण गरेर मात्रै बाहिरिन्छौँ ।’

अहिले घरहरुको शौचालय निर्माण र माथिल्लो तला छाप्ने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । ‘बाँकी काम गर्न गाऊँपालिकासँग पनि सहमति भएको छ, शौचालय आफैँले बनाउनेलाई पैसा दिने भन्ने कुरा छ, शाखा बाटो, पर्खाल लगायतका संरचना बनाउन कति लागत लाग्छ भनेर एक हप्ताभित्र थाहा हुन्छ, सबै काम सकेर मात्रै बाहिरिने विषयमा पुननिर्माण प्राधिकरणसँग पनि सल्लाह भएको छ ’, उहाँले बताउनुभयो ।  

गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले घरको माथिल्लो तल्लाको लागि आवश्यक पर्ने काठपातको जोहो गर्ने जिम्मा भने सम्बन्धित स्थानीय तहलाई दिइएको स्पष्ट पार्नुभयो । काठपातको बन्दोaस्तसहित शाखा बाटोहरु व्यवस्थापनको काम धार्चे गाउँपालिकाले गर्नेगरी सम्झौता भएको जानकारी दिँदै उहाँले त्यसको लागत भने एनआरएनएलेनै ब्यहोर्ने बताउनुभयो ।

हालसम्म बस्तीका ५ शय ७३ मध्ये एक सयभन्दा बढी घरको निर्माण पूर्ण रुपमा सकिएको भन्दै बाँकी घर निर्माण दुई महिनाभित्र सकेर सरकारलाई हस्तान्तरण गर्ने पन्तको दावी छ । 

विदेशमा बस्ने नेपालीहरुको माध्यमबाट नेपालमा कम्तीमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने लक्ष्य पूरा गर्न गृहकार्य सुरु भैसकेको उहाँको भनाइ छ । लगानीको केही अंश गोरखामा पनि ल्याउनेबारे छलफल थालिएको एनआरएनए अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

गोरखामा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उहाँले जिल्लाको उत्तरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा गैर आवासीय नेपालीहरु इच्छुक देखिएको बताउनुभयो । यस्तै बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानक्षेत्रमा पर्ने जग्गामा तत्कालका लागि व्यावसायिक खेती गर्न सकिनेबारे पनि गृहकार्य थालिएको पन्तले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजनाको निर्माण पूरा हुन कम्तीमा १ दशक समय लाग्ने देखिन्छ, सरकारले सो अवधिसम्म जग्गा उपलब्ध गरायो भने हामी अधिग्रहण गरिएको जग्गामा व्यवसायिक खेती गर्न चाहन्छौँ ।’ 

आसन्न नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैरआवासीय नेपालीहरुले सहयोग गर्ने बताउँदै उहाँले विदेशमा बस्ने एक नेपालीले कम्तीमा १ जना विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।

नेपाली पासपोर्ट देख्नासाथ विदेशको एयरपोर्टहरुमा हेयको भावले हेर्ने गरिएको भन्दै उहाँले नेपाली हरियो पासपोर्टलाई अमेरिकाको निलो पासपोर्ट बराबरकै सम्मान दिलाउन पहल गरिने दावी गर्नुभयो । त्यसका लागि नेपाल समृद्ध बन्नुपर्ने भन्दै पन्तले गैरआवासीय नेपालीहरुले देशको समृद्धिका लागि आफ्नो ज्ञान, सिप र प्रविधि भित्र्याएर सहयोग गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया