जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ– नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यस पटक नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए ।
शुक्रबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’ शालामा भएको कार्यक्रममा सुमनले १३ ओटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । सुमनले आफ्नो पेसासँग सम्बन्धित संस्मरण सुनाइरहँदा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् ।
कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुइटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ ओटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सिर्जना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको संगीत थियो ।
धेरैजसो अंग्रेजी भाषामा गाउने सुमन पहिलो पटक नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तिलगंगा अस्पतालसँग सम्बन्धित डा. सुमन आफ्नो सांगीतिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासँग आबद्ध छन् ।
कार्यक्रममा सञ्चालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे । मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन् । उनको नाम थियो आशा राई । आशा जन्मँदै संसारको दृश्य देख्नबाट बञ्चित जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ ओटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् ।
कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीतमध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’ मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा. सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए । उनले त्यही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ ।
त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा. सुमनको पेसासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो ।
गीत सुनिसकेपछि कार्यक्रममा उपस्थित गीतकार श्रवण मुकारुङले मन्तव्य राखेका थिए । उनले भने, ‘यसपालीको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो ।‘
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । सुमनसँगको पलेँटी शनिबार साँझ पनि हुनेछ ।