बिजुलीमा आत्मनिर्भर हुनै लाग्दा  १५ अर्ब रुपैयाँ खर्च गरेर ग्यास पाइपलाइन किन ?

 कात्तिक ११, २०७६ सोमबार १६:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले बर्खा याममा नेपाल बिजुलीमा लगभग आत्मनिर्भर भएको दाबी गरेको छ ।

अहिले ११ सय मेगावाटको हाराहारीमा बिजुली उत्पादन भैरहेको छ । चालु आर्थिक वर्षमा अब थप ९ सय मेगावाट बिजुली थपिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अब बिजुली उत्पादन गर्न भन्दा पनि खपत बढाउन चुनौती छ ।

बिजुली खपत बढाउन विद्युतीय गाडीको प्रयोग बढाउनेदेखि सहुलियतमा विद्युतीय चुल्हो वितरणसम्मका योजना सरकारले बनाइरहेको छ । घर घरमा विद्युतीय चुल्हो पुर्याउन सके बिजुलीको खपत धेरै हुने प्राधिकरणको अनुमान छ ।

तर देश बिजुलीमा आत्मनिर्भर हुँदै गएको बेला नेपाल आयल निगमले भने १५ अर्ब रुपैयाँ खर्च गरेर ग्यास पाइपलाइन बनाउन सर्भे सुरु गरेको छ । भारतको मोतिहारीदेखि चितवनको लोथरसम्मको ९८ किलोमिटर दूरीमा ग्यास पाइपलाइन बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सर्भेको शिलान्यास गर्नुभएको छ । नेपाल आयल निगमका अनुसार यो परियोजनाको प्रारम्भिक खर्च १५ अर्ब रुपैयाँ रहेको छ ।

ग्यास पाइपलाइन निर्माणमा ११ अर्ब १९ करोड रुपैयाँ र भण्डारणस्थल बनाउन ३  अर्ब ८१ करोड रुपैयाँ लाग्ने अनुमान छ । विद्युत प्राधिकरणले विद्युतीय चुल्होले ग्यास विस्थापन गर्ने योजना बनाइरहँदा निगमले १५ अर्ब रुपैयाँ खर्च गरेर किन ग्यास पाइपलाइन बनाउनुपर्याे त ?

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भन्नुहुन्छ, ‘अहिले ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन्, थप केहीले पनि अनुमति पाएर स्थापनाको चरणमा छन्, ती उद्योगको संरक्षणसँगै विद्युत प्राधिकरणले दिने बिजुलीको मूल्यलाई पनि हेरेर हामीले ग्यास पाइपलाइन अघि बढाउने तयारी गरेका हौँ ।’

कार्यकारी निर्देशक पौडेलले ग्यास ढुवानीबापत बर्सेनि ४ अर्ब रुपैयाँ खर्च हुने गरेको र पाइपलाइन बनाएमा ४ वर्षमा नै लगानी उठ्ने दाबी गर्नुभयो । ‘१५ सय किलोमिटर परबाट ग्यास आइरहेको छ, त्यसको पैसा कति खर्च भएको होला, प्रदूषण कति भएको होला, अनि झण्झट कति धेरै छ आफै अनुमान गर्नुस्’, पौडेलले भन्नुभयो, ‘१५ अर्ब रुपैयाँले कति  मेगावाट बिजुली उत्पादन हुन्छ भनेर बहस हुनु एउटा कुरा हो, तर हामीले पाइपलाइन बनायौँ भने त त्यसको फाइदा भोलिपल्टैबाट हुन्छ नि ।’

‘बिजुली सस्तो हुने भएमा आयोजना नबनाउन पनि सकिन्छ’

आयल निगमका कार्यकारी निर्देशक पौडेलले विद्युतीय सामग्रीको उपयोग बढाउने भन्दै ग्यास पाइपलाइनको विरोध हुनु गलत भएको बताउनुभयो ।

‘विद्युत प्राधिकरणले अहिले कति रुपैयाँमा बिजुली उपलब्ध गराइरहेको छ, सबै घरमा विद्युतीय चुल्हो पुग्नेगरी कहिले बिजुली उत्पादन हुन्छ भन्ने विषयमा बहस हुन जरुरी छ’, पौडेलले भन्नुभयो, ‘हामीले अहिले सर्भेको काम मात्रै सुरु गर्दैछौँ, यदि सबै हिसाबले बिजुली सस्तो हुने भयो र ग्यास विस्थापित नै हुनेरहेछ भने हामी पनि प्रोजेक्ट स्थगित गर्न सक्छौं नि ।’

तर बिजुलीमा आत्मनिर्भर हुँदैछौँ भनेर कुर्दै जाँदा ग्यासको ढुवानी भाडामै अरबौँ रुपैयाँ खर्च गरिरहन भने अब नसकिने पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया