एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत नभए कारबाही हुने

 कात्तिक १४, २०७६ बिहिबार १२:३२:७ | उज्यालो सहकर्मी

काठमाण्डौं – सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता र श्रमिकलाई अबको एक महिनाभित्र अनिवार्य सूचीकृत हुन आग्रह गरेको छ ।

सामाजिक सुरक्षा कोषले सूचीकृत हुनको लागि एक महिनाको समय थप गर्दै यस अवधिमा सूचीकृत नहुनेमाथि कारबाही हुने जनाएको हो । अहिलेसम्म सूचीकृत हुने पर्नेजति रोजगारदाता र श्रमिक नसमेटिएको भन्दै कोषले एक महिनाभित्र अनिवार्य सूचीकृत भनेको छ । थपिएको समयमा पनि सूचीकृत नहुनेलाई कानुन अनुसार कारबाही हुने कोषले निकालेको सूचनामा उल्लेख छ । 

अहिलेसम्म  कोषमा १ लाख १ हजार ५ सय सयभन्दा बढी योगदानकर्ता र ८ हजार ८ सयभन्दा बढी रोजगारदाता सूचीकृत भइसकेका छन् । 

 

कोषमा सूचीकृत दुई श्रमिकका आश्रित परिवारले पाउन थाले सुविधा

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका दुई श्रमिकका आश्रित परिवारले सुवधा पाउन थालेका छन् । सडक दुर्घटनामा परी ज्यान गुमाएका रुपेन्द्र थापा र प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले सुविधा भुक्तानी पाउन थालेका कोषले जनाएको छ ।

कोषले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत अन्तिम दाहसंस्कार खर्चबापत प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । 

यस्तै, योगदानकर्ता श्रमिक रुपेन्द्र थापाका परिवारले महिनाको १७ हजार १ सय र प्रकाश तामाङ मोक्तानको परिवारले महिनाको १ हजार २ सय सुविधा पाउन थालेको कोषका कार्यकारी निर्देशक कलिपमणि ज्ञवालीले जानकारी दिनुभयो । यो सुविधा रकम मृतक योगदानकर्ताको पारिश्रमिकको ६० प्रतिशतका दरले दिइएइको कोषले जनाएको छ । 

कोषले पनि ऋण दिने

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ऋण सुविधा पनि दिने भएको छ । कोषले लगानी कार्यविधि बनाएर योगदानकर्तालाई सामाजिक, शैक्षिक र घरजग्गाका लागि ऋण दिने भएको हो ।

सामाजिक सुरक्षा कोष लगानी कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसअघि अरु कोषहरुले जस्तो सामाजिक सुरक्षा कोषले ऋण नदिने भन्दै धेरै श्रमिकले गुनासो गरेका थिए ।

पछिल्लो समय कोषले कार्यविधि र निर्देशिका परिमार्जन गर्दै अघि बढेकाले धेरैभन्दा धेरै रोजगारदाता र श्रमिक कोषमा आउने कार्यकारी दिर्नेशक ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया