प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुनुहुन्छ : डाक्टर पाण्डे

 कात्तिक १४, २०७६ बिहिबार १७:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने गाण्डी अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार बेलुका ८–९ बजेसम्म प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने जानकारी दिनुभयो ।

डाक्टर पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो, ‘पीएम इज पर्फेक्ट्ली फाइन । प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य छ।’ डाक्टर पाण्डेका अनुसार बिहीबार प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको बुधबार पनि डायलाइसिस भएको थियो । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो एक वर्ष यता निरन्तर स्वास्थ्य जाँचमै हुनुहुन्छ । गएको वर्ष असोजमा पनि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गएको साउन र भदौमा २ पटक सिंगापुरमा लगेर उपचार गराइएको थियो । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रधानमन्त्री  ओली फर्कनुभएको थियो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया