प्रधानमन्त्री ओली डिस्चार्ज

 कात्तिक १४, २०७६ बिहिबार २०:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो । 

बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिनु भएको छ । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएकाे बताउनु भएकाे थियाे ।

प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार पुग्नुभएको छ ।  

यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताउनुभएकाे थियाे । 

प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन डायलाइसिस गर्नु परेकाे उहाँले जानकारी दिनुभएकाे थियाे । बुधबार र बिहीबार गरेर दुई पटक डायलासिसअन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गरेर उपचार गरिएकाे अस्पतालले जनाएकाे छ ।    

प्रधानमन्त्री ओलीको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीलगायतको टोलीले उपचार गरेकाे हाे ।  

बिहीबार दिनभर प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित मन्त्री तथा नेताहरु अस्पताल पुगेका थिए । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो एक वर्ष यता निरन्तर स्वास्थ्य जाँचमै हुनुहुन्छ । गएको वर्ष असोजमा पनि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गएको साउन र भदौमा २ पटक सिंगापुरमा लगेर उपचार गराइएको थियो । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रधानमन्त्री  ओली फर्कनुभएको थियो । 

याे पनि पढ्नुहाेस् ।


अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया