क्याम्पसमा कपाल पाल्न नपाउँदाको पीडा

 साउन १, २०७५ मगलवार १३:५१:३७ | बेदानन्द जाेशी
unn.prixa.net

बिहानै अफिस जानको लागि माइक्रोमा चढें । मेरो पछाडि सिटमा  क्याम्पस ड्रेसमा ठाँटिएका दुई, तीनजना विद्यार्थी पनि थिए । उनीहरुले लगाएको टाई हेरेर मैले थाहा पाएँ काठमाडौंकै प्रतिष्ठित कलेजमा पढ्ने विद्यार्थी रहेछन् ।

उनीहरु गफ गर्दै थिए । गफको विषय थियो कपाल ।  ‘म आज कसरी गेटबाट छिर्ने, पाले दाइले फेरि आज पनि गाली गर्ने भो’ एउटा केटाले आफ्नो लामो कपाल छाम्दै भने । उनी यसरी भन्दै थिए, लाग्थ्यो उनी विद्यार्थी नभएर कुनै ठूलो अपराधी हुन् । उनले गोरेको सुनकाण्ड भन्दा पनि ठूलो अपराध गरेका छन् । ‘आज त क्यान्टिनको पछाडिबाट उक्लेर जानुपर्छ’ उनले आफैं उपाय पत्तो लगाए ।

उनको कुरा सुनेर माइक्रो बसभित्र बसेका यात्रुहरुले सोचे होलान्, आफैंले पढ्ने क्याम्पसमा पनि गेटबाट जान नपाएर बार नाघेर जानुपर्ने कतिसम्मको अपराधी रहेछ यो ।

तर उसको पीडा अरुलाई के थाहा ? मैले पछाडि फर्केर उनी भएतिर पुलुक्क हेरें । सर्ट, पाइन्ट र टाईमा सजिएको, गोरो सर्लक्क परेको हेर्दै पनि इमान्दार देखिने त्यो केटाले कुनै नराम्रो काम गर्नै सक्दैन । उनीसँगै बसेका अरु साथीहरु पनि उस्तै देखिन्थे । मैले सोधें, ‘के भयो र ? किन यति धेरै तनावमा ?’

आफ्नो कपाललाई हातले च्याप्प समातेर निधारसम्म तन्काउँदै उनले भने, ‘के गर्ने दाइ हामीले जगल्टेहरुका सिद्धान्तहरु घोक्रो सुकुन्जेल रट्नुपर्ने, तर आफूले भने यी यत्रो कपाल पाल्दा पनि मास्टरको पिटाइ खानुपर्ने ।’

अर्कोले थपे, ‘दुई इन्च जतिको कपाल थियो होला त्यो भाइको, क्याम्पसमा सरले कपाल काट्न भनेपछि क्याम्पस नै जान मन लाग्न छोड्यो ।’ ‘कपाल काटेको आफूलाई कत्ति पनि सुहाउँदैन’ उनले आक्रोशित हुँदै भने, ‘कमसेकम आफूलाई सुहाउने गेटअप त गर्न पाउनुपर्यो नि ।’

उनको कपाल त्यति लामो देखिंदैनथियो । त्यस्तो छोटो कपाल पनि क्याम्पसमा काट्न लगाएको देख्दा मलाई अचम्म लाग्यो । 
क्याम्पस पढ्दा मेरो पनि कपाल लामो थियो । प्रिन्सिपलले कपाल काट्न भन्नुभएको थियो, तर मैले कहिल्यै काटिन । ब्रतवन्धपछि काट्छु भन्दै पन्छिएँ । प्रविणता प्रमाणपत्र तह सकियो, क्याम्पसबाट बिदा भइयो । म खुसी थिएँ कपाल जोगियो भनेर ।

तर कपाल पालेर मैले कहिल्यै पनि क्याम्पसमा कुनै उपद्रो काम गरिन । शिक्षकको नजरमा असल विद्यार्थी नै रहिरहें । मलाई लाग्छ, यो अपराध गर्ने कुरा कपाल पालेर या नपालेर हुने होइन । कपाल पाल्ने सबै खराब, कपाल काट्ने सबै असल हुन्छन् भन्ने मलाई पटक्कै विश्वास लाग्दैन ।

क्याम्पस पढ्ने कतिपय विद्यार्थी यस्तै समस्याले गर्दा पिरोलिएका पाइन्छन् । सर्लाहीबाट पढ्न भनेर काठमाडौं आएका नविन सिंह पनि यस्तै समस्याबाट पीडित रहेछन् । एसईईमा ए ग्रेड ल्याएका उनी ११ कक्षामा विज्ञान विषय पढ्न काठमाडौं आए । तर चारवटा क्याम्पस डुलिसक्दा पनि कपाल पालेर ‘बिन्दास’ पढ्न पाइने क्याम्पस भेटाएनन् । ‘जुन क्याम्पसमा गएपनि म त सुरुमै यही कुरा बुझ्छु दाइ’ उनले गम्भीर मुद्रामा भने, ‘कपाल नपालेको कोही वैज्ञानिकको फोटो देख्नुभएको छ तपाईंले ?’

उनले थप प्रश्न गरे, ‘रोनाल्डोको फ्यानले उसको जस्तो छोटो कपाल पालेर क्याम्पस जान पाउँछ भने आइन्सटाइनको फ्यानले लामोे कपाल पालेर क्याम्पस जान किन नपाइने ?’

स्कुल क्याम्पस पढ्ने प्रायः सबैले भोगेकै कुरा हो यो । त्यसमाथि निजी विद्यालयका विद्यार्थीहरुले त झनै बढी यस्तो समस्या भोगेका हुुन्छन् ।

मलाई नविनकै कुरा मनमा बारम्बार आइरहन्छ । ‘रोनाल्डोको फ्यानले उसको जस्तो छोटो कपाल पालेर क्याम्पस जान पाउँछ भने आइन्सटाइनको फ्यानले लामोे कपाल पालेर क्याम्पस जान किन नपाइने ?’

कसैले कपालको कुरा निकाल्दा मलाई उनकै याद आउँछ । त्यतिबेला सम्पर्क नम्बर लिइएन ।  अहिले कुन क्याम्पसमा भर्ना भए होलान् । त्यो क्याम्पसमा कपाल पालेर जान पाइन्छ कि पाईंदैन होला ? कपाल पालेर पढ्न पाउने क्याम्पस नभेटेर पढाई नै छाडे कि ? अथवा केही उपाय नभेटेर कपाल नै काटेर पढ्न थाले कि ?

अन्तिम अपडेट: भदौ २३, २०७५

1 Comments

तपाईको प्रतिक्रिया