एक वर्षमा छब्बीस गैँडा मरे

 साउन १, २०७५ मंगलबार १३:४९:४० | रासस

चितवन –  चितवन राष्ट्रिय निकुञ्जमा गएकाे आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् । गएकाे वर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको उहाँले बताउनुभयो । 

विसं २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैँडा मारेका थिए । त्यसयता तस्करले गैँडा मार्न भने सकेका छैनन् । 

अन्य कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताउनुभयो । 

आव २०७२÷७३ मा अन्य कारणबाट १५ वटा गैँडा मरेका थिए । तस्करले गैँडा मार्न नसके पनि अन्य कारणले मर्ने गैँडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । 

विभागबाट पर्यावरणविद्सहितको टोलीले गैँडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तस्करले गैँडा मार्न नसके पनि अरु कारणले गैँडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया