तराई मधेसमा यस्तो छ छठ मनाउने तयारी

 कात्तिक १६, २०७६ शनिबार ९:२२:४२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - मिथिलाञ्चललगायत तराई मधेशमा शनिबार हर्षाेल्लासपूर्वक छठ पर्व मनाइँदै छ । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामीण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ ।

त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् ।  छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यतिबेला सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिँगारिएको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई सजाइएर झकिझकाउ बनाइएको छ ।

घाटहरुमा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ । यस्तै मिथिलाञ्चलको गाउँघर, शहर बजारलगायत गल्लीमा गुञ्जिरहेको छठ पर्वका विभिन्न सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।  
 
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।

ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । बिहानपख सूर्य उदाउनु केहीबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन् ।

उदाउँदो सूर्यलाई अर्घ्यको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठ पर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ ।  छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडमा समेत मनाउन थालिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया