अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पाेखरेल

 कात्तिक १६, २०७६ शनिबार १६:२५:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताउनुभएको छ । 

धुम्बाराहीमा धन्वन्तरी पार्कको उद्घाटन गर्दै उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता गर्दै ती जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताउनुभयो । 

उहाँले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता पनि जुट्नुपर्ने बताउनुभयो । ‘अतिक्रमण गरिएका जग्गा स्थानीय तह र जनता मिलेर खोज्नुपर्दछ’, उहाँले भन्नुभयो,  ‘जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।’ 

यसैगरी प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको सुरुवात भएको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गर्नुभयो । संघीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उहाँले अहिले विकासका कामले गति लिएको बताउनुभयो । 

उद्घाटन गरिएको पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको झण्डै १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया