प्रधानमन्त्रीलाई काम कि आराम ?

 कात्तिक १७, २०७६ आइतबार १३:४०:४६ | मिलन तिमिल्सिना
unn.prixa.net

केही दिनअघि तीन रात अस्पताल बस्दा एक बिरामी परिवारसँग चिनजान भयो । पूर्वतिर घर भएका उनीहरु भैंसेपाटीमा बस्दा रहेछन् । कलेज पढ्दै गरेकी छोरीलाई मिर्गाैलामा पत्थरी भएपछि अस्पताल आएका रहेछन् । पत्थरी निकाल्न अप्रेशन गर्नु परेछ ।

दुई दिनअघि अप्रेशन गरिएकी किशोरी छेउको बेडमा सुतिरहेकी थिइन् । उनी बेलाबेला बर्बराउँथिन् । बिउँझेपछि छेउमा बसेकी आमाको हात समाउँदै भन्थिन्, ‘ममी मेरो मिर्गौलाले अब पहिलेजस्तै काम गर्दैन होला । अब म कसरी पढ्ने ?’

उनको अवस्था देख्दा र चिन्ता सुन्दा लाग्थ्यो, अप्रेशन गरेर पत्थरी निकालेपछि उनी निकै डराएकी छिन् । उनलाई अबको बाँकी जीवन व्यर्थ हुने भयो भन्ने निराशा र छटपटी छ । आत्मबल कमजोर भैसकेको छ ।

बिरामी छोरी कुर्न बसेकी आमा हैरान हुँदै भन्थिन्, ‘आ यो छोरीलाई पनि कति भन्नु ? कति सम्झाउनु ? पत्थरी झिकेर फालेको मात्र, अरु केही भएको छैन भनेर डाक्टरले भनेका होइनन् ? कति चिन्ता लिएको होला । चुप लाग भन्या ।’

तर छोरीलाई सम्झाउनै मुश्किल पर्थ्यो । एकछिन चुप लागेर सुत्थिन् । फेरि उसैगरी बर्बराउँथिन् । निद्रामा पनि बर्बराउँथिन् । आँखा खुलै भएको बेला पनि चिन्ता मान्थिन् । छटपटाउँथिन् । बेलाबेला राउण्डमा आउने डाक्टर र नर्सले पनि सम्झाउँथे । तै पनि उनको हालत उस्तै थियो ।

बेलुकीपख उनको एकजना फुपाजु आए । बेडमुनि कुर्सीमा बसे । सुतिरहेकी किशोरीको टाउको सुम्सुमाए । 

‘तँ त अचम्मकै मान्छे रहिछस् है ? कति सम्झाउनु, कति भन्नु । जाबो मिर्गौलामा भएको पत्थरी निकाल्दैमा केही हुन्छ त ? एउटा मिर्गौला नै झिकेर फाले पनि केही हुन्न । एउटा मात्रै मिर्गाैलाले पनि मज्जाले काम गर्छ । तेरो त झन् दुई वटै मिर्गौला ठिक छन् । अप्रेशन गरेर पत्थरी पो फालेको त । मिर्गौला नै फालेको त हैन नि । ल मिर्गौला नै फाल्नु परे पनि अरुको मिर्गाैला राख्न मिल्छ’ उनले भन्दै गए । किशोरीको मुहारमा अलिअलि आशाको चमक देखिन थाल्यो ।

त्यसपछि उनले फेरि थपे, ‘हाम्रा प्रधानमन्त्री छन् नि केपी ओली । चिन्छेस् नि उसलाई । हो उनको दुई वटै मिर्गौलाले काम नगरेपछि अरुको मिर्गौला राखेको छ । उनलाई टीभीमा त देखेकी होलिस् नि । बिरामी जस्ता छन् त ? छैनन् नि । मज्जाले देश चलाएर बसेका छन् । हिँडेका छन्, डुलेका छन्, बोलेका छन् । हँसाएका छन्, हाँसेका छन् । अरुको मिर्गाैला राखेर हिँडेका केपी ओलीलाई केही भएको छैन । यो आफ्नो दुई वटै मिर्गौला राम्रो हुँदा पनि चिन्ता मान्छे ।’ फुपाजुले प्रधानमन्त्री ओलीको स्वास्थ्य र काम सुनाएपछि ती किशोरीको अनुहारमा आशाको चमक बढ्न थाल्यो ।

हो, प्रधानमन्त्री ओली यस्तै धेरै बिरामीका प्रेरणा र हौसलाका स्रोत हुनुहुन्छ । पहिले जेलमा रहेको बेलादेखि नै बिरामी ओली त्यसपछि कहिल्यै पूर्ण स्वस्थ हुनुहुन्न । १२ वर्षअघि उहाँको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा धेरै ध्यान दिनुपर्छ । धेरै काम, हिँडडूल र धपडी गर्न नहुने डाक्टरहरु बताउँछन् ।

तर प्रधानमन्त्री ओली पूर्ण स्वस्थ मानिस जस्तै पुरै सक्रिय हुनुहुन्छ । उहाँमा दृढ इच्छाशक्ति र आत्मविश्वास छ । उहाँको यही इच्छाशक्ति र आत्मविश्वासले अरु बिरामीलाई समेत आत्मबल र हौसला थप्ने गरेको छ ।

प्रधानमन्त्री ओलीको अनुहारमा कहिल्यै निराशा देखिन्न । जहाँ जस्तोसुकै अवस्थामा पनि आशावादी देखिनुहुन्छ । अरुलाई आशा देखाउनुहुन्छ ।

हो, धेरैपटक उहाँले अलि बढी नै आशा पनि देखाउनुभएको छ । अहिल्यै सबैथोक भैहाल्छ कि भन्ने भ्रम पनि बाँड्नुभएको छ । धेरै आशा एकैपटक देखाउँदा धेरै निराश पनि भएका छन् । तर ओली केही गर्न खोज्ने आँटिलो, आत्मविश्वासी र दृढ इच्छाशक्ति भएको मान्छे हो भन्नेमा चाहिँ विपक्षी र विरोधी पनि सहमत छन् । प्रधानमन्त्री ओली अझै धेरै सक्रिय भैदिए हुन्थ्यो भन्ने धेरैलाई लागेको छ ।

तर यतिबेला प्रधानमन्त्री ओली एक, दुई महिना अघिको अवस्थाजस्तो स्वस्थ र सक्रिय हुनुहुन्न । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस या फेरि प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । त्यसैले अब प्रधानमन्त्री ओलीले आराम गरिदिए हुन्थ्यो भन्ने चर्चा हुन थालेको छ ।

प्रधानमन्त्रीले आराम गरिदिए हुन्थ्यो भन्नेहरुमा उहाँपछिको पालो पर्खेर बसेका कतिपय नेताहरुको स्वार्थ समेत लुकेको होला । तर लिनुदिनु केही नभएका अरु नागरिक पनि प्रधानमन्त्रीले आराम गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।

तर प्रधानमन्त्रीलाई केही भएको छैन, उहाँले मज्जाले काम गर्न सक्नुहुन्छ भनेर तर्क गर्नेहरु पनि छन् । यसो भन्नेमा प्रधानमन्त्रीको आसपास बसेर काम गरिरहेका उहाँ नजिकका मान्छे मात्र होइनन, अरु नागरिक समेत छन् ।

एउटा कुरा सत्य हो कि प्रधानमन्त्री सक्रिय हुनु भएन भने देशमा केही हुन्छ भनेर आशा र सपना देखाउने अर्को मान्छे हुँदैन भन्नेहरुको जमात ठूलो छ । प्रधानमन्त्रीले देखेका सबै सपना पूरा नभए पनि केही सकारात्मक संकेत देखिन थालेको पक्कै हो । यतिबेला अर्थतन्त्र र पूर्वाधारको विकासले गति लिन थालेको छ । छिमेकीसँगको सम्बन्ध प्रगाढ हुँदैछ । 

अहिले भैरहेका सुधारका लक्षणहरु प्रधानमन्त्री ओलीकै भिजन र सक्रियताका संकेत हुन् । जसले जे भने पनि धेरैलाई अझै पनि विश्वास छ, आफ्नो कार्यकाल पूरा गर्ने बेलासम्म ओलीले केही गरेर देखाउनुहुनेछ । रेल, पानीजहाज जस्ता ठूला कुरा त नहोलान्, तर विकास निर्माण र अर्थतन्त्रका अरु बाटाचाहिँ फराकिला हुन्छन् भन्नेमा धेरै विश्वस्त छन् ।

हो, प्रधानमन्त्री ओलीलाई सधैं उसैगरी सक्रिय बनाइराख्न स्वास्थ्यले साथ दिंदैन । अवस्था अहिलेकोभन्दा गम्भीर भयो भने उहाँले नियमित काम गर्न पनि सक्नुहुन्न । देशको मुख्य कार्यकारीमा रहेको मान्छेले नै राम्ररी काम गर्न सकेन भने यसको सन्देश र परिणाम राम्रो जाँदैन । अहिले भैरहेका विकास निर्माणका काम र अरु योजनामा पनि असर पर्न सक्छ ।

तर काम गर्न सक्छु कि सक्दिनँ भन्ने निर्णय गर्ने अधिकार बिरामीको पनि हो । यसअघि तत्कालीन एमालेको पार्टी अध्यक्ष हुने बेला पनि ओलीलाई स्वास्थ्यकै कारण काम गर्न सक्दैनन् भनिन्थ्यो । बिरामी मान्छेले पार्टी हाँक्न सक्दैन भनेर टीकाटिप्पणी पनि भएकै हो । तर जसले जे भने पनि ओली पार्टी अध्यक्षमा चुनिनुभयो । खुम्चिन लागेको पार्टीलाई उकास्नुभयो । प्रधानमन्त्रीमा चुनिएर भारतको नाकाबन्दीलाई चुनौती दिनुभयो । भारतसँग मात्रै निर्भर आयात र आतेजाते गर्न चीन र अरु देशसँग पनि सम्भावनाका बाटाहरु पहिल्याउनुभयो । फेरि पनि प्रधानमन्त्री भएर केही गर्न खोज्दैछु भन्ने संकेत दिइरहनुभएको छ ।

यसबाट पनि थाहा हुन्छ, बिरामीको आत्मबल र इच्छाशक्ति कमजोर नहुँदासम्म बाहिरबाट हेरेर मूल्यांकन गर्न गाह्रो हुन्छ । अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीले नियमित काम गर्न सक्नुहुन्न भनेर आराम गर्ने सल्लाह दिन हतार हुन्छ । आराम गर्ने या कामलाई निरन्तरता दिने भन्ने कुरा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था हेरेरै निर्णय गर्नुहोला । देशमा केही गर्छु भनेर भिजन लिएर हिँडेको मान्छेले आफ्नो स्वास्थ्य अवस्थाकै कारण भिजन पूरा हुने छाँट देखेन भने आराम गर्छु भनेर आफैँ भन्न सक्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Miguel

    Dec. 1, 2022, 7:23 p.m.

    Great article. I will be dealing with some of these issues as well.. Medicina deportiva web page deporte

  •  0 Reply

तपाईको प्रतिक्रिया