चोरीको आरोपमा नेपाली सुरक्षा गार्डलाई दुःख दिने मलेसियन प्रहरीमाथि अनुसन्धान हुने

 कात्तिक १७, २०७६ आइतबार १३:५४:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – चोरी गरेको आरोप लगाएर नेपाली सुरक्षा गार्डलाई आठ दिनसम्म थुनामा राख्ने मलेसियन प्रहरीमाथि अनुसन्धान हुने भएको छ ।

बुकिट अमन्स इन्टिग्रिटी एण्ड स्टयण्डर्ड कम्प्लियन्स डिपार्टमेन्ट (जेआईपीएस)ले चोरीको आरोपमा दुईजना नेपाली सुरक्षा गार्डलाई दुःख दिने प्रहरीमाथि नै जाँच गर्न लागेको त्यहाँको स्थानीय अनलाइन ‘द स्टार’ले जनाएको छ । 

प्रहरी महानिरीक्षक तनश्री

अक्टोबर १६ मा सेरेबान नजिकै नेग्रि सेम्बिलन हाउजिङ स्टेटमा चोरी भएको थियो । त्यहाँको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जना नेपाली सुरक्षा गार्डलाई थुनामा राखेको थियो ।

प्रहरी महानिरीक्षक तनश्री अब्दुल हमिद बदोरले यदि यो घटना भएको भए त्यसमा संलग्न प्रहरी विरुद्ध नै कारबाही हुने बताउनुभएको छ । 

‘यदि यो सत्य हो भने, म पक्कै पनि त्यसमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्नेछु’, उहाँले भन्नुभयो, ‘मैले घटनामाथि तत्कालै अनुसन्धान गर्न जेआईपीएसलाई निर्देशन दिइसकेको छु ।’

मलेसियाकिनी पत्रिकामा पत्रकार आर नदेश्वरनले चोरीमा संलग्न रहेको आरोपमा ३७ र ४० वर्षका दुईजना नेपाली सुरक्षा गार्ड पक्राउ परेको भन्दै समाचार छापेका थिए । समाचारमा उल्लेख भएअनुसार अक्टोबर २१ तारिखमा प्रहरीले पक्राउ गर्दा उनीहरुको रोजागारदाता त्यहाँ थिएनन् ।

नादेश्वरनले अक्टोबर १६ तारिखमा चोरी भएको  तर प्रहरीले तीन दिनपछि अक्टोबर १९ मा मात्र रिपोर्ट गरेको भनेर लेखेका छन् । नादेश्वरनका अनुसार रोजगारदाता र नेपाली दूतावासका अधिकारी अक्टोबर २४ तारिखमा पक्राउ परेका सुरक्षा गार्डको पासपोर्ट बुझाउन प्रहरी चौकी पुगेका थिए । तर उनीहरुसँग पक्राउ परेकाहरुलाई अन्तैको कारागारमा पठाइएको भनिएको थियो ।

नादेश्वरनका अनुसार ती दुईजना सुरक्षा गार्डलाई तिहारमा समेत गरेर आठ दिनसम्म बिना कारण कारागारमा थुनेर बुधबारका दिन बिना शर्त रिहा गरिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया