एमसीसीले दियाे नेपाल यू-१९ टिमलाई ३३५ रनकाे लक्ष्य

 कात्तिक १७, २०७६ आइतबार १३:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेरिलबोन क्रिकेट क्लब एमसीसीले नेपाल यू-१९ टिमलाई ३३५ रनकाे लक्ष्य दिएकाे छ ।

ऋत गौतमको कप्तानीमा रहेको नेपाली यू-१९ टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको एमसीसीले त्रिवि क्रिकेट मैदानमा निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको हो ।

नेपाल यू-१९ विरुद्ध शानदार सुरुवात गरेको एमसीसीले १५ ओभरमा एक सय रन पार गरेको थियो । एमसीसीको रन गतिमा नेपालका सागर ढकालले ब्रेक लगाएका थिए ।

सागरले २२ रन बनाएर खेलिरहेका विलि गोल्डमेनलाई २२ रनमा आउट गरे । त्यसपछि क्रिजमा रहेका विल रोड्स र टम वेज्लीले पारी अघि बढाएका थिए । ९३ रन बनाएर खेलिरहेका विल रोड्सलाई शेर मल्लले आउट गरेका थिए ।

त्यसलगत्तै तेस्रो विकेटका रुपमा शेर मल्लले जिमी एडम्सलाई पहिलो बलमा खाता नै नखोली पेभेलियनको बाटो देखाए । ३७ औंँ ओभरमा सागर ढकालले विल भान्डरस्पारलाई २४ रनमा आउट गरे । छैटौँ विकेटको रुपमा आकाश चन्दले माइल्स ह्यामण्डलाई ५३ रनमा आउट गरे ।

त्यसैगरी सातौँ विकेटको रुपमा विकेटकीपर हरिबहादुर चौहानले क्यालम ज्याक्सनलाई आउट गरेका थिए । डाइरेक्ट हिटमा आउट भएका ज्याक्सनले २ रन मात्रै बनाउन सके । उनी आउट हुँदा एमसीसीले ३ सय रन पार गरेको थियो ।

एमसीसीका एडवार्ड जर्स क्रिस्टोफर योङ ४५ तथा यासिर आराफात ४ रनमा नट आउट रहे ।

बलिङतर्फ नेपालका सागर ढकाल र शेर मल्लले दुई दुई विकेट तथा कुशल मल्ल र आकाश चन्दले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया