प्रदेश प्रमुखलाई मनपरी ढंगले हटाएर सरकारले सर्वसत्तावाद लाद्ने षड्यन्त्र गर्‍याे : कांग्रेस

 कात्तिक १७, २०७६ आइतबार १८:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो । 

प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले मनपरी ढंगले हटाएर सर्वसत्तावाद लाद्ने षड्यन्त्र गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पौडेलले सरकारको यो निर्णयको काग्रोसले विरोध गर्ने पनि बताउनुभयो । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको हो ।  

प्रदेश १ प्रमुख प्रा. डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त हुनुभएको हो । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको २०७४ साल माघ ३ गते सातै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • bikanj

    Nov. 3, 2019, 7:01 p.m.

    कठै काङ्ग्रेस , काङ्ग्रेसको बपाैति लुटिएको , गुहार गुु-- हार, गु--- ।

  •  0 Reply

तपाईको प्रतिक्रिया