नेकपाले टुंग्यायो उम्मेदवार: बाग्लुङमा जनमोर्चालाई सघाउने

 कात्तिक १७, २०७६ आइतबार १९:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवार चयन गरेको हो । 

बैठकले कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्रीय समितिले सर्वसम्मत रुपमा पठाए अनुसार नै भट्टराईलाई सचिवालय बैठकले उम्मेदवार अनुमोदन गरेको हो । 

यस्तै तीन वटा प्रदेश सभा सदस्यमध्ये २ वटामा नेकपाले उम्मेद्वार उठाउने र एक ठाउँमा भने राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय पनि आइतबारको बैठकले गरेको छ । 

दाङ-३ (ख) र भक्तपुर-१(क)मा आफ्नो उम्मेदवार उठाउने र बाग्लुङ-२(ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । 

भक्तपुर-१(क)मा दवीप्रसाद ढकाल र दाङ-३(ख) मा विमला वलीलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको हो । प्रतिनिधिसभा तर्फ उम्मेदवार बन्नुभएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारी पत्नी हुनुहुन्छ । यस्तै दाङ-३(ख) मा उम्मेद्वार बन्नुभएकी विमला वली स्वर्गीय उत्तरकुमार वली पत्नी हुनुहुन्छ । 

दुवैको निधन भएपछि रिक्त भएको ठाउँमा उहाँहरुकै पत्नीलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको हो । रवीन्द्र अधिकारी पत्नी विद्याका लागि यो राजनीतिमा पुनरागमन हो भने वलीका लागि नयाँ प्रवेश हो । 

यस्तै सचिवालय बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया