हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकमा केन्द्रित

 कात्तिक १८, २०७६ सोमबार ९:९:४० | एजेन्सी
unn.prixa.net

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तीव्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीको बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो ।

अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् ।

हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । 

थाइल्याण्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो ।

हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, ‘चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।’

दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । 

थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया