एमसीसीले नेपाललाई दियाे २०२ रनकाे लक्ष्य, ललित र पवनले लिए ४/४ विकेट

 कात्तिक १८, २०७६ सोमबार १२:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २०२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एमसीसीले ४०औं ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको हो । एमसीसीका लागि २ जना ब्याट्सम्यानले अर्धशतकीय पारि खेले ।

विली गोल्डम्यानले ५२ रन बनाउँदा पवन शर्राफको बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए । एमसीसीले १७ औं ओभरमा १०० रन पूरा गरेका थियो । १९औं ओभरमा नेपालले दोस्रो सफलता हात पारेको थियो । ललित राजवंशीले १० रन बनाएर खेलिरहेका टम वेस्लेलाई आउट गरेका थिए ।

२७ औं ओभरमा एमसीसीले १६२ बन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । व्यक्तिगत दोस्रो तथा टिमका लागि ललितले तेस्रो सफलता दिलाएका हुन् । ललितले इशान पाण्डेको हातबाट अर्धशतकीय पारि खेलेका विल रोड्सलाई क्याच आउट गरेका थिए । रोड्स ५४ रन बनाएर आउट भए ।

नेपालका लागि चौथो सफलता अभिनास बोहोराले दिलाए । उनले २८ औं ओभरका खेलमा विल भान्डरस्परलाई ३६ रनमा पेभेलियनको बाटो देखाए । नेपालका ललित राजवंशीले व्यक्तिगत तेस्रो तथा टिमका लागि पाँचौं सफलता एमसीसीका माइल्स होमण्डलाई आउट गरेर दिलाए । माइल्सले जम्मा २ रनको योगदान गरे । ३२ औं ओभरको खेलमा पवनले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं विकेट लिए । उनले जीमी  एडम्सलाई १० रनमा पेभेलियनको बाटो देखाए ।

लेगस्पिनर सन्दीप लामिछाने नखेलेपछि नेपाली स्पिनको जिम्मा लिएका ललित आजको खेलमा सफल सावित भए । उनले  एमसीसीका एकपछि अर्को व्याट्सम्यानलाई आउट गर्दै आफूलाई अब्बल सावित गरेका हुन् । व्यक्तिगत चौथो तथा टिमका लागि सातौं सफलता दिलाउँदा मेडन ओभर बलिङ गरेका थिए । ललितले कोलुम ज्याकनलाई ११ रनमा आउट गरेका हुन् ।

नेपालका लागि पवन शर्राफले आठौं सफलता दिलाए । पवनको यो व्यक्तिगत तेस्रो विकेट पनि हो । ३९ औं ओभरको खेलमा ११ रन बनाएर खेलिरहेका एलेक्स थमसनलाई पवनले बिक्रम शोबको हातबाट क्याच आउट गरेका थिए । त्यस लगत्तै पवनले टिमका लागि नवौं विकेट पनि हात पारे ।

पवनले पनि व्यक्तिगत विकेट संख्या चार पुर्‍याएका छन् । पवनले ३९औं ओभरमै क्रिस राइटलाई एलबीडव्ल्यूको धरापमा पारेका थिए । अन्तिम विकेट भने करण केसीले लिए ।

नेपालका लागि अहिलेसम्म पवन र ललितले चार चार विकेट लिँदा अभिनास र करणको नाममा एक एक विकेट रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया