एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी

 कात्तिक १८, २०७६ सोमबार १५:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टिम पाँच विकेटले विजयी भएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारी नायक रहे ।

एमसीसीविरुद्ध खराब सुरुवात गरेको नेपालको पारीलाई शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीले जोगाएका हुन् । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले अविजित ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पवन शर्राफ ३८ रनमा अविजित रहे । 

पहिलो विकेटको रुपमा इशान पाण्डेलाई गुमाएको नेपालले दोस्रो विकेटकको रुपमा कप्तान ज्ञानेन्द्र मल्लाई गुमाएको थियो । दुवै ओपनर आउट भएपछि क्रिजमा रहेका शरद र ऐरीले नेपालको पारी अघि बढाएका थिए । 

१८ औं ओभरको खेलमा नेपालले क्रिजमा जमिसकेका शरद र दीपेन्द्रको विकेट गुमाउन पुग्यो । शरद २४ तथा दीपेन्द्र २१ रनमा पेभेलियन फर्किएका हुन् । त्यस्तै पाचौँ विकेटको रुपमा आरिफ शेख आउट भए । आरिफ २३ रन बनाएर पेभेलियन फर्किए ।

ललित र पवनले एमसीसीका चार चार जना ब्याट्सम्यानलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सानदार सुरुवात गरेको एमसीसीले २५ ओभरमा २ विकेट गुमाएर १५१ रन बनाएको थियो भने बाँकी १५ ओभरमा अलआउट हुँदा २०१ रन मात्र बनाउन सक्यो । एमसीसीका २ जना खेलाडीले अर्धशतक बनाए ।

विली गोल्डम्यानले ५२ रन बनाउँदा पवन शर्राफको बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए । एमसीसीले १७ औं ओभरमा १०० रन पूरा गरेका थियो । १९ औं ओभरमा नेपालले दोस्रो सफलता हात पारेको थियो । ललित राजवंशीलेले १० रन बनाएर खेलिरहेका टम वेस्लेलाई आउट गरेका थिए । 

२७ औं ओभरमा एमसीसीले १६२ बन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । व्यक्तिगत दोस्रो तथा टिमका लागि ललितले तेस्रो सफलता दिलाए । ललितले इशान पाण्डेको हातबाट अर्धशतकीय पारी खेलेका विल रोड्सलाई क्याच आउट गरेका थिए । रोड्स ५४ रन बनाएर आउट भए ।

नेपालका लागि चौथो सफलता अभिनास बोहोराले दिलाए । उनले २८ औं ओभरमा विल भान्डरस्परलाई ३६ रनमा पेभेलियनको बाटो देखाए । नेपालका ललित राजवंशीले व्यक्तिगत तेस्रो तथा टिमका लागि पाँचौँ सफलता एमसीसीका माइल्स होमण्डलाई आउट गरेर दिलाए । माइल्सले जम्मा २ रनको योगदान गरे । 

३२ औं ओभरको खेलमा पवनले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं विकेट लिए । उनले जीमी एडम्सलाई १० रनमा पेभेलियनको बाटो देखाए ।

लेगस्पिनर सन्दीप लामिछाने नखेलेपछि नेपाली स्पिनको जिम्मा लिएका ललित आजको खेलमा सफल सावित भए । उनले एमसीसीका एकपछि अर्को ब्याट्सम्यानलाई आउट गर्दै आफूलाई अब्बल सावित गरेका हुन् । व्यक्तिगत चौथो तथा टिमका लागि सातौं सफलता दिलाउँदा उनले मेडन ओभर बलिङ गरेका थिए । ललितले कोलुम ज्याकनलाई ११ रनमा आउट गरेका हुन् ।

नेपालका लागि पवन शर्राफले आठौं सफलता दिलाए । पवनको यो व्यक्तिगत तेस्रो विकेट बन्यो । ३९ औँ ओभरको खेलमा ११ रन बनाएर खेलिरहेका एलेक्स थमसनलाई पवनले विक्रम शोबको हातबाट क्याच आउट गरेका थिए । 

त्यसलगत्तै पवनले टिमका लागि नवौं विकेट पनि हात पारे । उनले पनि व्यक्तिगत विकेट संख्या चार पुर्‍याए । पवनले ३९ औं ओभरमै क्रिस राइटलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए । अन्तिम विकेट भने करण केसीले लिए ।

नेपालका लागि पवन र ललितले समान चार/चार विकेट लिँदा अभिनास र करणले समान एक/एक विकेट लिए । 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया