यस्ताे छ प्रदेश प्रमुखमा सिफारिस हुनेहरुकाे पृष्ठभूमि !

 कात्तिक १८, २०७६ सोमबार २०:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको हो । 

यसअघि आजै बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो । सचिवालयले टुंगो लगाएको नाम प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको थियो । प्रदेश टुंगो नलगाई सचिवालयले नाम सिफारिस गरेको भए पनि मन्त्रिपरिषद् बैठकले यसबारेमा टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।  

मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्वर १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ ।   

यस्तो छ सातै प्रदेश प्रमुखहरुको पृष्ठभूमि  

अमिक शेरचन 

वि.सं. २०१७ सालदेखि वामपन्थी राजनीतिमा लागेका अमिक शेरचनको जन्म २००६ सालमा म्याग्दी जिल्लाको ओखरबोटखानी-९, मा भएको हो । शेरचनले राजनीतिशास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । 

शेरचन २०६४ सालको संविधानसभा चुनावमा चितवन क्षेत्र नम्बर ५ बाट १४ हजार ३ सय ९७ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदीले १० हजार १२ मत प्राप्त गर्नुभएको थियो । 

शेरचन राजनीतिक यात्राका क्रममा झण्डै १६ वर्ष भूमिगत हुनुभएको थियो भने ३ वर्ष जेल पर्नुभयो । तत्कालीन नेकपा (एकता केन्द्र) का अध्यक्ष समेत भैसकेका शेरचन एकीकृत नेकपा (माओवादी)सँगको एकतापछि एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्य बन्नुभएको थियो । 

नेपाली कांग्रेसका नेता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरचन उपप्रधानमन्त्री हुनुभएको थियो । उहाँ गएको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा तत्कालLन नेकपा एमाले र माओवादी केन्द्रaLच बनेको वाम गठबन्धनको चुनावी कमाण्डका कमाण्डर रहेर काम गर्नु भएको हो । पार्टी एकीकरणपश्चात शेरचन अहिले नेकपाको स्थायी समिति सदस्य हुनुहुन्छ । 

सोमनाथ अधिकारी 'प्यासी'

२००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मनुभएका अधिकारी १८ वर्षकै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा होमिनु भएको हो । प्रवेशिका परीक्षापछि २०२५ बाट ढिकुरपोखरीको पाउँदुरको स्थानीय विद्यालयमा अध्यापनको काम थाल्नुभयो ।

विद्यालयमा पढाउँदै राजनीतिमा सक्रिय हुन सुरु गर्नुभएका अधिकारी सहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । त्यसबेला पार्टीले अधिकारीलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो । क्याम्पसमा ०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतिशील विद्यार्थीको तर्फबाट स्ववियू सभापतिमा होमिनुभयो र जित पनि  हासिल गर्नुभयाे । २०२८ साल जेठमा उहाँ एक महिना जेल पर्नुभयो । 

स्ववियू सभापतिकाे कार्यकाल सकिएपछि २०३० मा उहाँ पुनः शिक्षण पेशामै फर्कनुभयो । शिक्षण पेशामै रहे पनि राजनीतिमा सक्रिय रहँदा २०३१ मा पुनः गिरफ्तार हुनुभयो । अधिकारीलाई घरबाटै सशस्त्र हतियारधारी प्रहरीले घेरा हाली गिरफ्तार गरेका थिए । गिरफ्तारको ९ दिनमै उहाँलाई जोमसोम कारागार चलान गरियो । त्यसको ९ महिनापछि उहाँ २०३४ मा नख्खु कारागार चलान हुनुभयो । जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उहाँ फेरि राजनीतिमै सक्रिय हुनुभयो । 

२०३६ सालमा उहाँ दोस्रो पटक पीएन क्याम्पसमा सभापति चुनिनुभयो । तत्कालीन मालेको राजनीतिमा सक्रिय प्यासी मार्क्सवादीसँगको एकीकरणपछि नगर कमिटी सचिव हुँदै जिल्ला कमिटी उपसचिव बन्नुभयो ।  २०४३ मा राष्ट्रिय पञ्चायतको चुनावमा मालेको तर्फबाट उहाँ पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्यमा चुनिनुभयो । त्यसबेला देशभरिमा मालेका जम्मा पाँचजना निर्वाचित भएका थिए । 

राष्ट्रिय पञ्चायत संसदमा नै अधिकारीले बहुदलीय व्यवस्था र जनसंविधानसभाको माग गरेपछि १५ दिन पदबाट निलम्बन गरिएको थियो । बहुदलीय व्यवस्था स्थापनापछि उहाँ तीन कार्यकाल १२ वर्षसम्म कास्कीको पार्टी सचिव हुनुभयो । २०४८ सालको आम चुनावमा कास्की–३ मा सांसद बन्नुभयो । ०५१ को मध्यावधि र ०५६ को आम चुनावमा उम्मेदवार भए पनि जित भने हात पार्न सक्नुभएन । पार्टीमा भने उहाँ आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गर्नुभयो ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारी कास्की २ मा हुन लागेको आसन्न उपचुनावको आका‌ंक्षी उम्मेदवारसमेत हुनुहुन्थ्यो । तर, नेकपाले दिवंगत रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख नियुक्त गरेको हो । 

गोविन्द कलौनी 

अहिले कञ्चनपुरबाट कम्युनिष्ट राजनीति गर्दै आउनुभएका कलौनीले २०५१ सालमा डडेल्धुरा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावमा प्रतिस्पर्धा गर्नु भएकाे थियाे । तर त्याे बेला उहाँ देउवासँग पराजित हुनु भयाे । त्यसपछि पनि २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट चुनाव लड्नुभयो । याे चुनावमा पनि उहाँ निर्वाचित हुन सक्नुभएन । २०६८ साल फागुन २१–२३ काठमाडौंमा सम्पन्न भएको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट केन्द्रीय निर्वाचन आयोगको सदस्य हुनुभएका कलौनी हाल नेकपाका केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्ष हुनुहुन्छ ।  

कलौनी २०३५ सालदेखि २०३७ साल सम्म अनेरास्ववियू (एकताको पाचौँ) को सदस्य हुनुहुन्थ्यो । २०३६ सालदेखि २०४७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको डडेल्धुरा जिल्ला सदस्य भएर काम गर्नुभएका कलौनी पाचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो । 

२०३९ साल देखि २०४१ सम्म डडेल्धुरामा ‘मार्क्सवादी अध्ययनदल’ (नेकपा माले) को प्रमुख हुनुभएको थियो । २०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजिनामा दिएर पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका कलौनी २०५० सालमा नेकपा (एमाले) डडेल्धुराका संस्थापक सचिव हुन पुग्नुभयो ।  

यस्तै २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) र २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परीक्षण कमिटी सदस्य हुनुभयो । २०५९ सालमा एमालेको सातौ राष्ट्रिय महाअधिवेशनबाट केन्द्रीय लेखा परीक्षण कमिटी सदस्य पनि हुन पुग्नुभयो । कलौनी २०१२ जेठ २९ गते साबिकको रिम गाविस बैतडीमा जन्मनुभएको हो ।  

तिलक परियार 

रोल्पाको सदरमुकाम लिबाङ्गमा १५ कातिक २००० सालमा आमा भक्तिदेवी परियार र बुबा हस्तबहादुर परियारको आठौँ सन्तानमध्ये चौँथो सन्तानका रुपमा तिलक परियारको जन्म भएको हो । तिलक परियारले बनारसमा बसेर उच्च शिक्षा अध्ययन गर्नुभयो । उत्तर प्रदेश बोर्डबाट आईएको परीक्षा दिने तयारी गर्दैगर्दा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का पी.बी.एम. (पोलिटब्यूरो सदस्य) बि.टी. रण द्विवेसित उहाँको सम्पर्क भयो । 

२०२१ सालमा भारतका कम्युनिस्ट नेता रण द्विवेको माध्यमबाट नेपालका कम्युनिस्ट नेता पुष्पलालसित पहिलो पटक उहाँको सम्पर्क भएको हो । निरन्तरको सम्पर्कपछि उहाँ पनि कम्युनिष्ट आन्दोलनमा होमिन पुग्नुभयो । अध्ययन सकेर २०२२ सालमा नेपाल फर्कपछि उहाँ रोल्पाको जेलबाङ गाउँ पञ्चायतको वडा नम्बर २, पुरानागाउँमा रहेको नेपाल राष्ट्रिय प्रावि स्कुलको प्रधानाध्यापक भएर काम गर्नुभयो । 

केही समय प्रधानाध्यापक भएपछि उहाँ २०२४ सालमा रोल्पामा भूमिसुधार लागू भएपछि भूमिसुधार कार्यालयको कर्मचारी भएर केही समय काम पनि गर्नुभयो । तर त्यहाँ कर्मचारीले गरेको विभेद र अपमानका कारण उहाँले राजीनामा दिएर फेरि भारततिरै जानुभयो । पछि नेपाल फर्केर २०२८ सालदेखि भने उहाँ सक्रिय राजनीतिमा होमिनु भयो । 

आफ्नो राजनीतिक जीवनमा पञ्चायतकालदेखि जेल बस्ने क्रममा उहाँ झण्डै २५ पटक जति हिरासतमा बस्नुभएको छ । २०५२ फागुन १ बाट तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा परियार पनि सामेल भएर भूमिगत बन्न पुग्नुभयो । शान्ति प्रक्रियापछि २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा परियार तत्कालीन माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी हुनुभएको हो । 

स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएका परियार फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार पुराना नेतामा राम्रो भाषण गर्नेहरू मध्येमा गनिनुहुन्छ । अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहनुभएका परियारले दलित मुक्ति आन्दोलनलाई अगाडि बढाउनुभएको हो ।   

पहिलो संविधानसभा चुनावमा विजयी हुनुभएका परियार दोस्रो संविधान सभा भने बहिष्कार आन्दोलनमा लाग्नुभयो । दोस्रो संविधानसभामा उहाँ वैद्य माओवादीमा लागेर चुनाव बहिस्कारमा सक्रिए हुनुभएको थियो ।  त्यसपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीमा लाग्नुभएका परियार २०७३ जेठमा पुनःमुलधारमा फर्कनु भएको थियो । अहिले उहाँ नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको ४ छोरी र ३ छोरा छन् । 

धर्मनाथ यादव

वि.सं.२००० मा सिरहाको सुखिपुर नगरपालिकामा जन्मनुभएका यादव विद्यार्थीकालमै २०१६ सालमा तत्कालि नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिमा सक्रिय हुनुभएको हो । निरन्तर राजनीतिमा सक्रिय रहेका यादव २०३७ सालमा ३ महिना जेल पनि पर्न भयो ।  

पार्टीको काम सँगै शिक्षण पेशामा समेत रहेका यादवले २०४८ सालको संसदीय आम चुनावमा उम्मेदवारी दिनको लागि शैक्षिक पेशाबाट राजीनामा दिनुभयो । तर त्यसबेला उहाँ पराजित हुनुभयो । त्यसपछि पनि ७६ वर्षीय यादव निरन्तर पार्टी राजनीतिमा संलग्न रहँदै आउनुभएको छ । 

राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि इमान्दारिता भने आफूले कहिल्यै नगुमाएको उहाँले भन्ने गर्नुहुन्छ । उहँ भन्नुहुन्छ, ‘मैले राजनीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन र भएको जागिर छोडे, तर आज पार्टीले सही मूल्याङ्कन गरेको महसुस भएको छ ।’ यादव अहिले नेकपाको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।  

शर्मिला त्रिपाठी

चितवनको रत्ननगर नगरपालिका १३ घर भई काठमाण्डौ बस्ने शर्मिला त्रिपाठी बेपत्ता परिवार समाजको अध्यक्ष हुनुहुन्छ । २०२५ साल पुस ९ गते चितवनमा जन्मनु भएको हो ।   

उहाँका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले बेपत्ता पारेको थियो । २०६० असोज ९ गते राज्यपक्षले त्रिपाठीलाई बेपत्ता पारेको थियो ।  ज्ञानेन्द्र तत्कालीन नेकपा माओवादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय हुनुहुन्थ्याे । अहिलेसम्म पनि त्रिपाठीको अवस्थाका बारेमा कुनै जानकारी छैन । 

आफ्नो श्रीमानको अवस्थाबारे जानकारी माग्दै शर्मिला त्रिपाठीले सर्वोच्चमा रिटसमेत हाल्नुभएको थियो । राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएकी त्रिपाठी श्रीमानको निधनपछि तत्कालीन माओवादीबाट राजनीतिक यात्रा थाल्नुभएको थियो ।  

विष्णु प्रसाईं

प्रसाईँ २०७४ मा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित हुनुभएको हो । त्यसअघि २०५४ मा तत्कालीन एमालेको तर्फबाट झापा क्षेत्र नं. १ मा सांसदका लागि भएको चुनावमा पनि उहाँ पराजित हुनुभएको थियो । 

गएको स्थानीय तहको चुनावमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित हुनुभएको हो ।  

त्यसअघि उहाँ जिल्ला विकास समिति झापाको उपाध्यक्ष रहनुभएको थियो । गएको स्थानीय तहको चुनावका बेला गाडामाथि चढेर चुनाव प्रचार गरेपछि प्रसाईँ चर्चामा आउनुभएको थियो ।  

अन्तिम अपडेट: मंसिर २, २०७६

तपाईको प्रतिक्रिया