आलमको बयान सकिएन, हिरासतमै पठाइयो

 कात्तिक १९, २०७६ मंगलबार १७:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान मंगलबार नसकिएपछि पुनः बुधबार लिइने भएको छ ।

मंगलबार बयान नसकिएपछि बुधबार बिहान १० बजे बयानका लागि बोलाइएको अदालतले जनाएको छ । मंगलबार एक घण्टा आलमको बयान लिइएको र समय अभावका कारण मंगलबार नसकिएपछि बुधबारका लागि बोलाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।

मंगलबार आलमको बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी कार्यालयमै पठाइएको श्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो । रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको बयान लिन सुरु गरिएको हो ।

यसअघि दिउँसो बयानका लागि अदालत पुर्याइएका आलमलाई उनको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनु पर्ने र आलमलाई काउन्सिलिङका लागि केही समय दिन माग गरेपछि बयान केहीबेर रोकिएको थियो ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फाेट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । आलमलाई कारबाही माग गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, पर्साका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नुहुनेछ ।

आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । आलमको बयानपछि थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ ।  

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया