मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सम्पन्न

 कात्तिक २०, २०७६ बुधबार १३:१५:२३ | रासस
unn.prixa.net

पर्वत – मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङ यही हप्ता खोलिएको हो । 

सुरुङको हेर्डबक्सदेखि एक हजार पाँच सय ५० र पावरहाउसदेखि एक हजार एक सय मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब  ‘कङक्रिटिङ’को काम सुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो । 

आयोजना सुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो । ‘सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौँ’, आचार्यले भन्नुभयो । 

निर्माण कार्य सुरु भएपछि विक्रम संवत २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले अहिलेसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ । आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादन गृहको कामसमेत सोमबारबाट सुरु भएको भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिनुभयो । 

मोदी खोलाको आडैमा निर्माण हुने उत्पादन गृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । पटक-पटक पावरहाउसको काम सुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन । 

‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम सुरु गरेका छौँ’, आचार्यले भन्नुभयो, ‘अब धमाधम काम हुन्छ’, आचार्यले भन्नुभयो । सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम सुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररूपमा काम भैरहेको उहाँले जानकारी दिनुभयो । 

मोदी गाउँपालिका १ मा पर्ने भुकताङले र वडा नम्बर २ मा पर्ने  देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी गाउँपालिका १ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी गाउँपालिका २ देउपुरको बेतेनीसम्म दुई हजार ६ सय ९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदी खोलामा मिसाउने योजना छ । 

झण्डै दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजनाले गएको मंसिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो । विक्रम संवत २०७१ देखि सुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ । 

सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले समयभित्र उत्पादन थाल्नेगरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया