तीन दिवसीय क्रिकेट: पहिलाे दिनकाे खेलमा एमसीसी बलियाे स्थितिमा

 कात्तिक २०, २०७६ बुधबार १८:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणमा रहेको पाहुना टोली एमसीसी नेपालको राष्ट्रिय टोलीविरुद्ध बलियो स्थितिमा पुगेको छ । 

नेपाल र एमसीसीबीच कीर्तिपुरकाे त्रिवि मैदानमा जारी तीन दिवसीय प्रथम श्रेणी अन्तर्गत पहिलो दिनको खेलमा एमसीसीले ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ बनायाे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोड्न सफल भएको हो । एमसीसीका यासिर अराफात ३५ तथा एलेक्स थम्पसन २२ रनमा अविजित रहे । यस्तै एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रनको योगदान गरे । १ सय १० बलको सामना गरेका रोड्सले १२ चौका प्रहार गरे ।

पहिलो विकेटको रुपमा बिल गडलम्यान १० रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि रोड्सले टम वेस्टलेले ९४ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । दोश्रो सेसनको सुरुवातमा सोमपालले रोड्सलाई बोल्ड गरेर साझेदारी तोड्दै पेभेलियन फर्काउँदा ३९ रन बनाएका टम वेस्टलेलाई शरद भेसावकरले एलबीडब्लूको धरापमा पार्दै मैदान बाहिर पठाए ।

चौथो विकेटको लागि माइल्स ह्यामन्ड र विल भान्डस्र्परले ४९ रनको साझेदारी गर्दा शरदले ५२ रन बनाएका ह्यामन्डलाई बोल्ड गर्दै साझेदारीलाई तोडे । ५३ रन बनाएर भान्डस्र्पर पनि सन्दिपबाट एलबिडब्लुको धरापमा परे ।

सातौँ विकेटको रुपमा साझेदारी गर्दै यासिर अराफात र एलेक्स थम्पसनले ३ सय रन पूरा गरे । ९६ ओभरको खेल हुने बताइए  पनि खराब प्रकाशका कारण ब्याट्सम्यानहरु खेल्न नमानेपछि ८७ ओभर मात्र खेल सम्भव भएको थियाे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले १७ ओभर गर्दै ५० रन खर्चिँदा ३ मेडन ओभर राख्दै दुई विकेट लिए । यस्तै २४ ओभर बलिङ गरेको सन्दिप लामिछानेले ८१ रन खर्चिएर २ विकेट हात पार्दा ३ मेडन ओभर गरे ।

यस्तै शरद भेषावाकरले पनि २ विकेट हात पारे । १० ओभर बलिङ गरेका शरदले १ मेडन ओभर राख्दै ३५ रन खर्चिए । यस्तै करन केसी, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरीले बलिङ गरे पनि विकेट हात पार्न सकेनन् ।

नेपालका १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गरेा छन् भने शरद र सोमपाल भने प्रथम श्रेणीको खेल खेलिसकेका छन् । सोमपाल कामीले यस अघि श्रीलंकाको घरेलु क्रिकेट खेल्दा प्रथम श्रेणी क्रिकेट खेलेका थिए भने  शरदले २००५ र २००६ को इन्टर कन्टिनेन्टल कपमा अनुभव लिएका थिए ।  दोस्रो दिनको खेल बिहीबार हुनेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया