बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, एक दर्जन घाइते

 कात्तिक २१, २०७६ बिहिबार १०:१२:७ | जयनारायण यादव
unn.prixa.net

बारा – छठको लागि निर्माण गरिएको छठी माताको मूर्ति हटाउने विषयमा बुधबार राति बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । कलैया उपमहानगरपालिका–१५ को बकुलहर टोलमा छठी माताको मूर्ति हटाउने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा करिब एक दर्जन घाइते भएका छन् ।

झडपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीसहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालले बताउनुभयो । अन्य केही स्थानीय पनि घाइते भएका छन् । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

छठ पर्व अगाडि नै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छठ सकिनेवित्तिकै मूर्ति हटाउने सहमति भएको थियो तर स्थानीयले नहटाएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया