भक्तपुरमा स्वतन्त्रसहित २१ जनाकाे उम्मेदवारी दर्ता: सञ्चारमाध्यमलाई कडाइ

 कात्तिक २१, २०७६ बिहिबार १८:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - जिल्ला निर्वाचन कार्यालयमा भक्तपुरमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले शान्तिपूर्ण र सौहार्द पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आउँदाे मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबार ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भडेल तथा नेपाल मजदूर किसान पार्टीबाट निरज लवजूले उम्मेदवारी दिनुभएकाे छ। 

उम्मेदवारी दर्ता गराउनु अघि तीन वटै दलले कमलविनायकबाट कार्यालयसम्म बाजागाजा, पार्टीको झण्डा, चुनाव चिन्ह लिएर नारा लगाउँदै छुट्टाछुट्टै र्‍याली प्रर्दशन गरेका थिए ।

नेकपाका तर्फबाट सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुयाँल, प्रदेश सभा सदस्यहरु शशीजंग थापा, डा. राजेन्द्रमान श्रेष्ठ, सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा र्‍याली प्रर्दशन गरिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेतृत्वमा र्‍याली प्रर्दशन गरिएको थियो ।

यता नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाईलगायतको नेतृत्वमा कमलविनायकबाट बाजागाजासहित र्‍याली प्रर्दशन गरिएको थियो ।

दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टी सुर्दशन कुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली कांग्रेस (बि.पी.) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाईँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवन चन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

शान्ति पूर्ण र सौहार्द रुपमा बिहान १० बजेदेखि १ बजेसम्म प्रवेश गर्नेहरुले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जगत नारायण प्रधानले जानकारी दिनुभयाे ।

उम्मेदवारी दर्ता स्थलमा सञ्चारकर्मी र नेतालाई अवरोध

आउँदाे मंसिर १४ गते हुने उपनिर्वाचनको समाचार संकलन एवं तस्बिर खिच्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका सञ्चारकर्मीलाई तस्बिर एवं भिडियो लिन अवरोध गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय वरिपरी तैनाथ प्रहरीले सञ्चारकर्मीलाई प्रवेश निषेध गरे पनि नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर राज बुढाथोकीको नेतृत्वमा गएको पत्रकारको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरीक्षक सविन प्रधानसंग छलफल गरेपछि समाचार संकलनमा केही सहज बनाइएको थियो । 

सञ्चारकर्मीलाई उम्मेदवारको मनोनयन दर्ताको नजिकबाट तस्बिर र भिडियो लिन पाउनुपर्ने र सहज समाचार संकलनका लागि सहयोग गर्न आग्रह गरेपछि प्रजिअ भट्टले आफूले केही गर्न नमिल्ने बताउनुभयो । 

सञ्चारकर्मीले यसबारेमा मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानसँग बुझ्दा निर्वाचन आयोगले नै नजिकबाट तस्बिर लिन नदिन निर्देशन दिएकाले केही गर्न नसकिने भन्दै प्रधान पन्छिएको बताइएकाे छ ।

त्यसपछि मनोनयन दर्ता स्थल भन्दा पर बार लगाएर जान नदिएपछि मनोनयनको तस्बिर र भिडियो नजिकबाट लिन नपाएको गुनासो सञ्चारकर्मीले गरेका छन् । 

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकीले यसअघिका कुनै पनि निर्वाचनमा सञ्चारकर्मीलाई समाचार संकलन र तस्विर तथा भिडियो लिन सहज व्यबस्था गरेपनि अहिले भने अबरोध गरेर संचार माध्यमलाई संकुचित पार्न खोजेको बताउनुभयो । यस्ता कार्य निर्वाचनको समयमा नदोहर्याउन आग्रह गर्दै सुरक्षाकर्मीबाट अभद्र व्यवहार गर्ने कार्यबाट रोक्न उहाँले आग्रह गर्नुभएको छ । 

त्यसैगरी उम्मेदवार दर्ताका लागि जानुभएका नेकपाका नेताहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महेश बस्नेत लगायतलाई समेत प्रहरीले मनोनयन दर्ता स्थलमा जान नदिएपछि नेता र सुरक्षाकर्मीहरुबीच निकै घम्साघम्सी परेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया