म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा

 कात्तिक २२, २०७६ शुक्रबार ७:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सर्वियाको पार्टिजानलाई ३–० ले हराउँदै युनाइटेडले अन्तिम ३२ मा स्थान बनाएको हो । 

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि म्यासन ग्रिनउड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले एक–एक गोल गरे । 

खेलको २१औ मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा ग्रिनउडको पासमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको युनाइटेडले दोस्रो हाफको चौथो मिनेटमा तेस्रो गोल गर्‍यो । यस पटक रासफोर्डले गोल गरेका थिए ।

यो जितका कारण समूह एलबाट युनाइटेड दुई खेल अगावै नकआउट चरणमा पुगेको छ ।

यो समूहमा नेदरल्याण्डको एजेडले नकआउट चरणको बाटो सहज बनाएको छ । चौथो खेलमा एजेडले काजकिस्तानको अस्तानालाई ५–० ले हरायो । 

युनाइटेडले चार खेलबाट १० अंक बनाएको छ भने एजेडले आठ अंक जोडेको छ । 

उल्भरह्याम्टन नकआउट चरण नजिक

स्लोभाकियाको स्लोभान ब्राटिस्लाभालाई १–० ले हराउँदै इंग्लिस क्लब उल्भरह्याम्टन पनि नकआउट चरण नजिक पुगेको छ । 

राउल जिमिनेजको इन्ज्युरी समयको गोल निर्णायक बन्दा उल्भ्सले स्लोभानलाई १–० ले हरायो । त्यसअघि ५१औं मिनेटमा पाएको पेनाल्टीलाई उल्भ्सका रुबेन नेभेसले खेर फालेका थिए । 

समूह केमा उल्भ्सले नौ अंक बनाएको छ । यस समूहमा पोर्चुगलको स्पोर्टिङ ब्रागा शीर्ष स्थानमा छ । टर्कीको बेसिक्टासलाई ३–१ ले हराउँदै ब्रागा १० अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया