आलम प्रकरण : तत्कालीन गृह मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाहीको दायरामा ल्याउन माग

 कात्तिक २२, २०७६ शुक्रबार १८:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमको मुद्दामा थुनछेक बहसको दोश्रो दिन बिहीबार वादी पक्षको बहस सकिएकाे छ । आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको छ ।

आलममाथि लगाइएका तीन मुद्दामा शुक्रबार वादी पक्षको तर्फबाट बहस भएको हो । वादी पक्षबाट पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, सह-न्यायाधिवक्ता रामप्रसाद पन्थी, जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, कुमार खतिवडा, दिनेश त्रिपाठी, अधिवक्ता गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, आशिक राम कार्की, मनिषकुमार श्रेष्ठ, पुष्पराज पौडेल समेत १० जनाले बहस गर्नुभएको थियो ।  

दोश्रो दिन शुक्रबार वादी पक्षबाट बहस गरेका अधिकांश कानुन व्यवसायीले प्रतिवादी आलमसहित घटनामा सामेल भएका सबैलाई मिसिलअनुसारको हदैसम्मको कानुनी कारबाही गर्नु पर्ने र पुर्पक्षका लागि थुनामा राखेर कारबाही अगाडि बढाउन माग गरेका छन् ।

बहसका क्रममा कानुन व्यवसायीहरुले तत्कालीन समयका गृह मन्त्रीदेखि लिएर प्रमुख जिल्ला अधिकारी सम्मलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । मानवताविरुद्ध गरिएको यस्ता क्रुर अपराधमा अन्तर्राष्ट्रिय अदालतसम्ममा मुद्दा दायर गर्न सक्ने कुरा बिहीबार बहसमा उठेको थियो ।

राैतहटमा कहालीलाग्दाे घटना घटेका बेला कांग्रेस नेता कृष्णप्रसाद सिटाैला गृह मन्त्री हुनुहुन्थ्याे । त्यस्तै दुर्गा भण्डारी राैतहटका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्याे ।

वादी पक्षको बहससँगै अदालतको समय सकिएकोले आइतबार ११ बजेको समय तोकिएर बिहीबारको बहस टुङ्गिएको हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फाेटमा परेका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य घाइतेहरुलाई जिउँदै इँटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया