जनकपुरमा सुरु भयो ‘नेपाल साहित्य महोत्सव’

 कात्तिक २२, २०७६ शुक्रबार १९:४२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - आईएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण शुक्रबारदेखि सुरु भएको छ ।

जनकपुरको जानकी मन्दिर प्रांगणमा शुक्रबार पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले वृक्षारोपण गर्दै तीनदिने साहित्य महोत्सवको उद्घाटन गर्नु भएको हो । 

साहित्य महोत्सवको पहिलो दिन लेखक हरि शर्माले विद्वत प्रवचन दिनु भएको थियो । ‘सीमाञ्चलको साहित्य’ विषयमा प्रवचन दिनु भएका शर्माले भाषा, साहित्य र संस्कृतिले अपनत्व बढाउने बताउनुभयो । विभिन्न भाषाका साहित्यको एकापसमा सम्बन्ध हुने बताउँदै उहाँले भन्नुभयो, ‘कुनै अन्तर्राष्ट्रिय साहित्यमा नेपाली शब्द वा भाव आउँदा, मेरो भाषा समृद्ध भएको अनुभव गरेको छु ।’

त्यस्तै लेखक तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले हरि शर्माको चिनारीका बारेमा प्रकाश पार्नु भएको थियो ।

 नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताउनुभयो । 

शुक्रबार साँझ जानकी मन्दिर परिसरमा विशेष सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो ।

तीन दिनसम्म चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन प्रदीप गिरीले दिनु हुनेछ । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले ‘जनकनन्दिनी सीता’माथि विचार राख्नु हुनेछ ।

‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक–पत्रकार सुधीर शर्मासँग बहस गर्नु हुनेछ । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले त्यो सत्र सञ्चालन गर्नु हुनेछ ।

‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चा परिचर्चा हुनेछ ।

सन् २०११ देखि सुरू अन्तर्राष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया