मन्त्रिपरिषद् पुनर्गठनको तयारी: प्रधानमन्त्री ओलीको सचिवालयका सबैले राजीनामा दिने

 कात्तिक २३, २०७६ शनिबार १७:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गर्नुभएको छ । केही दिनमा नै मन्त्रीहरु फेर्ने तयारी भइरहँदा प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् । 

मन्त्रिपरिषद् पुनर्गठन गर्न सहज होस् भनेर सचिवालयबाट राजीनामा दिन लागिएको प्रधानमन्त्री ओलीका एक जना सचिवालय सदस्यले जानकारी दिए ।  
मंसिरबाट लागू हुनेगरी सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । 

प्रधानमन्त्री ओलीले मंसिरको पहिलो साताभित्रै मन्त्रिपरिषद् सदस्य हेरफेर गर्न लाग्नुभएकाले त्यसअघि बाट नै सुरु हुने गरी राजीनामा दिन थालिएको ती सदस्यको भनाइ छ । 

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिन लागेका हुन् ।  

मन्त्रिपरिषद् हेरफेर हुँदा अहिले राजीनामा दिएका सदस्यहरु पनि पर्ने उत्तिकै सम्भावना रहेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीकै निर्देशनमा सबै सल्लाहकारले राजीनामा गर्न लागेका हुन् । मन्त्रिपरिषद् सदस्य हेरफेर गर्दा मन्त्री बनाउने नभए काम परे फेरि बोलाउनेगरी अहिले राजीनामा दिन लागिएको सचिवालयका ती सदस्यको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया