यस्ताे रह्याे आइतबार सुनचाँदीकाे भाउ: भन्सार शुल्कका कारण मूल्य बढेकाे व्यवसायीकाे भनाइ

 कात्तिक २४, २०७६ आइतबार १९:२४:२५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढ्याे । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुन तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरेकाे थियाे  । शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने तोलामा ११ सय रुपैयाँ बढेको हो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटे पनि नेपालमा सुनको भाउ बढेको हाे । सरकारले आइतबारदेखि लागू हुनेगरी सुनको भन्सार शुल्क बढाएकाले भाउ बढेको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार यसअघि एक तोलाको सुनको भन्सार शुल्क ५ हजार ८ सय ३२ रुपैयाँ थियो । अब एक तोला सुनको भन्सार शुल्क ७ हजार ५ सय ८१ रुपैयाँ पुगेको छ । यस्तै प्रति १० ग्राम भन्सार शुल्क ६ हजार ५ सय रुपैयाँ पुगेको छ । भन्सार शुल्क बढेकाले सुनको भाउ पनि बढेको हो ।

यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँ पुगेको थियाे । यसअघि चाँदीको भन्सार शुल्क किलोको ५६ सय रुपैयाँ रहेकोमा अब बढेर ७ हजार ५ सय रुपैयाँ पुगेको हाे । 

बढेको शुल्क उपझोक्ताको थाप्लोमा 

भन्सार शुल्क नबढेको भए आइतबार सुनको भाउ आज तोलाको ६९ हजार ५ सय रुपैयाँमा झर्ने थियो भने चाँदी तोलाको ८ सय २५ रुपैयाँ कायम हुन्थ्यो । तर बढेको भन्सार शुल्क बिक्री गर्ने सुनको भाउमा नै गाभिएपछि सुनको भाउ तोलामा १५ सय रुपैयाँ महंगो भएको शाक्यको भनाइ छ । 

यसअघि २०६६ सालमा सुनको भन्सार प्रति १० ग्राम १ सय ३० रुपैयाँ दिनुपथ्र्यो । त्यो लगातार बढ्दै ५२ सय रुपैयाँसम्म पुगेको थियो । तर भन्सार शुल्क बढी भएपछि तस्कर बढेको भन्दै एक हजार रुपैयाँ घटाएर भन्सार शुल्क ४२ सय रुपैयाँमा झारिएको थियो ।

यद्यपि, गएको जेठमा सरकारले बजेट भाषणमार्फत नै भन्सार शुल्क बढाएर प्रति १० ग्राम सुनको भन्सार शुल्क ५ हजार रुपैयाँ बढाउने निर्णय गर्‍याे । त्यो निर्णय कार्यान्वयन भएको साढे चार महिनापछि फेरि १५ सय रुपैयाँ भन्सार शुल्क बढेको हो ।

व्यवसायीले भन्सारमा तिर्ने रकम उपभोक्ताबाट उठाउने भएकाले उपभोक्ता नै थप मारमा पर्ने भएका छन् । 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रति औंस १० डलर घटेको थियाे भने शुक्रबार प्रति औंंस १४ सय ६९ दशमलव ८० डलरमा कारोबार भएको सुनको भाउ आइतबार प्रति औंंस १४ सय ५९ दशमलव ८० डलरमा झरेको थियाे ।

तर भन्सार शुल्क बढेकाले नेपालमा सुनको भाउ आज तोलामा ११ सय रुपैयाँ बढेको हो । यस्तै गएको शुक्रबारको तुलनामा चाँदीमा आइतबार प्रति औंंस २३ सेन्ट घटे पनि नेपाली बजारमा भाउ बढेको थियाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया