म्यानचेस्टर सिटीमाथि लिभरपुलको शानदार जित

 कात्तिक २५, २०७६ सोमबार ७:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता म्यानचेस्टर सिटीमाथि ३-१ गोलअन्तरको शानदार जित हासिल गर्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । 

लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रतासमेत बनाएको छ । १२ खेलबाट उसको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमश: लेस्टर सिटी र चेल्सी छन् ।

लिभरपुलसँग पराजित भएपछि सिटीले भने अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर पनि गुमायो । १२ खेलबाट सिटीको २५ अंक छ ।

घरेलु मैदान एनफिल्ड रंगशालामा सुरुवातदेखि नै आक्रमक लिभरपुलले ६ मिनेटमै अग्रता बनाएको थियो । फाविन्होले बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नै सकेनन् ।

१३ औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि सिटी थप दबाबमा देखियो । रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको पेप ग्वार्डिओला प्रशिक्षित टिम सिटीविरुद्ध सलाहले रोवर्टसनको पासमा गोल गरेका थिए । 

पहिलो हाफमै दोहोरो अग्रता बनाएको लिभरपुलले ५३ हजार घरेलु समर्थकमाझ दोस्रो हाफको सुरुमै तेस्रो गोल गरेको थियो । यसपल्ट साडियो मानेले गोल गरेका थिए ।

खेलको अन्त्यतिर म्यानचेस्टर सिटीले १ गोल फर्कायो । ७८ औं मिनेटमा सर्जियो एग्यूरोको क्रसमा बर्नाडो शिल्भाले गोल गरेका हुन् ।

खेलको अन्तिम १० मिनेट म्यानचेस्टर सिटीले लिभरपुलमाथि ब्यापक दबाब बनाएको थियो । लिभरपुलको चुस्त रक्षापंक्तिले त्यसको डटेर सामना गर्‍यो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया