फाल्गुनन्द जयन्तीमा इलामका तीन पालिकामा सार्वजनिक बिदा

 कात्तिक २५, २०७६ सोमबार ९:३:२ | सुजता सुनुवार
unn.prixa.net

इलाम — किराँत धर्मका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्गदेनको १ सय ३५ औँ जन्मजयन्तीमा इलामका पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका १० पालिकामध्ये एक नगरपालिका र दुई गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् ।

फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा माङसेवुङ र फाकफोकथुम गाउँपालिका तथा माई नगरपालिकाले बिदा दिएका हुन् । बिदाका दिन गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालय बन्द रहने पालिकाले जनाएको छ ।

इलामको माङसेवुङ गाउँपालिका फाल्गुनन्दको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देउमाई नगरपालिका–२ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिका नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको माइ नगरपालिका प्रमुख दीपककुमार थेवेले बताउनुभयो ।

वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको साविक इभाङ गाविसको चुक्चिनाम्बा गाउँमा जन्मिएका फाल्गुनन्द लिङदेनले पाँचथरलाई कर्मभूमि बनाएका थिए । उनले जीवनको अन्तिम घडीसम्म धार्मिक तथा साँस्कृतिक अभियानको ज्ञान छरेको पाइन्छ ।

लिङदेनले १९८८ वैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालीन १० लिम्बूवानका प्रतिनिधि र किराँत चुम्लुङ (भेला) बोलाएर १० बुँदे सत्यधर्म मुचुल्का पारित गराएको इतिहास छ । त्यही समयमा सत्य धर्म मुचुल्का किराँत समुदायमा रहेका विकृति तथा विसंगति सुधार गर्ने बुँदाहरु पारित गरिएका थिए । यसलाई किराँत समुदायले किराँत समाज सुधारको पहिलो खुट्किलोको रूपमा लिने गरेको पाइन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया