अफगानिस्तानविरुद्धको शृंखला वेष्ट इण्डिजद्वारा क्लिन स्वीप

 कात्तिक २६, २०७६ मंगलबार ६:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखला वेष्ट इण्डिजले क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिज ५ विकेटले विजयी भयो ।

भारतको लखनउमा खेलिएको खेलमा साइ होपले शतकीय पारी खेलेपछि २५० रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५ विकेटको क्षतिमा ४८.४ ओभरमा जित निकाल्यो ।

ओपनर होपले नटआउट रहेर १४५ बलमा ८ चौका र ३ छक्कासहित १०८ रनको शानदार पारी खेले ।

इभिन लेविस र सिमरन हेटमायर सस्तैमा आउट भएपछि वेष्ट इण्डिज सुरुमै दवाबमा परेको थियो । तर होपले ब्रेन्डन किंगसँग मिलेर तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै आशा दिलाए । किंगले ३९ रनको योगदान गरे । 

निकोलास पुरन २१, कप्तान किरोन पोलार्ड ३२ र रोस्टन चेजले ४२ अविजित रन जोडे । 

चेजले होपसँग मिलेर छैटौं विकेटका लागि ७१ रनको अविजित साझेदारी गरेका थिए । अफगानिस्तानका मुजिव उर रहमानले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४९ रनको योगफल खडा गर्ने क्रममा तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

ओपनर हजरातुल्लाह जाजाईले ५० रनको अर्धशतकीय पारी खेल्दा मध्य क्रमका पूर्व कप्तान अस्घर अफ्गानले ८६ रनको शानदार पारी खेले । अफगानले ८५ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । मोहम्मद नावीले अविजित ५० रन बनाए ।

वेष्ट इण्डिजका किमो पाउलले ३ विकेट र अल्जारी जोसेफले २ विकेट लिए । यसअघिका दुवै खेलमा वेष्ट इण्डिज विजयी भएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया