म्यानपावर र कम्पनीको 'लापर्वाही'ले मलेसियामा पाल्पाका यमबहादुर बयम्बुको ज्यान गयो

 कात्तिक २६, २०७६ मंगलबार १५:२३:३९ | देव पचभैया
unn.prixa.net

पाल्पा - म्यानपावर र कम्पनीको लापर्वाहीले मलेसिया पुगेको २ महिना नपुग्दै पाल्पा निस्दी गाउँपालिका–६, अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ ।

गम्भीर बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेका कारण यमबहादुरको मंगलबार मृत्यु भएको मलेसियामा रहेका छिमेकीले जनाएका छन् ।

काठमाण्डौको रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेसमा पुगेका यमबहादुर मलेसिया पुगेदेखि नै बिरामी भएरको र गम्भीर बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेको मृतककी बहिनी कान्तिसराले जानकारी दिनुभयो ।

मलेसिया पुगेपछि नै बिरामी परे पनि कम्पनी र काठमाण्डौको म्यानपावर कम्पनीले यमबहादुरले नाटक गरेको भन्दै उपचारमा लापर्वाही गरेका थिए । मृतक यमबहादुरका परिवारले उपचारका लागि १ लाख २० हजार रुपैयाँ नातेदार पर्ने एजेन्टलाई दिए पनि कम्पनी र म्यानपावरले उपचार नगरेको जनाएका छन् ।

म्यानपावर कम्पनीका एजेन्ट दानबहादुर सोमै मगरले आफूले यमबहादुरलाई पठाउनका लागि सुरुमा ९५ हजार लिएको र बिरामी परेपछि १ लाख २० हजार परिवारबाट लिएर रिजा ओभरसिसलाई दिएको प्रतिक्रिया दिनुभयो । काठमाण्डौको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताउनु भएको छ ।

बिरामी भएको १० दिनपछि मात्रै कम्पनीले बयम्बुलाई अस्पताल लगेको थियो । एपेण्डिसाइटिस भएको भन्दै शल्यक्रिया भएको कम्पनीले जनाएको छ । म्यानपावर र मलेसियाको कम्पनी दुवैले लापर्वाही गरेका कारण यम बहादुरको मृत्यु भएको भन्दै मृतक बयम्बुको परिवारले कारबाहीको माग गरेका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया